काठमाडौं, १५ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समय परिस्थिति अनुसार हरेक संगठनको भूमिका परिवर्तन हुने बताउनुभएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्रथम सचिवालय बैठकलाई आइतबार धुलिखेलमा सम्बोधन गर्दै पोखरेलले अनेरास्ववियुको अहिलेको भूमिका पनि बदलिएको बताउनुभयो । नयाँ पुस्तामा राजनीति प्रति विकर्षण बढेको बेला नयाँ पुस्तालाईलाई राजनीतिमा जोड्ने दायित्व अनेरास्ववियुको काँधमा आएको उहाँले बताउनुभयो । ‘अखिलले अगाडि सार्ने एजेण्डा नयाँ पुस्तालाई मन पर्दा मात्र नयाँ पुस्ता एमालेमा जोडिन्छ’, उहाँले भन्नुभयो ।
विचारको तागत बलियो हुने बताउँदै उहाँले अनेरास्ववियुलाई वैचारिक संगठनको रूपमा अघि बढाउनु पर्नेमा जोड दिनुभयो । मार्क्सवादका विरोधीहरूले पनि मार्क्सवादका मान्यतालाई आफ्नो हितका निम्ति प्रयोग गरेकाले मार्क्सवादी दर्शन शक्तिशाली दर्शन भएको उहाँले स्पष्ट पार्नुभयो ।
नेपाली समाजलाई सबैभन्दा बलियो प्रभाव पार्ने व्यक्ति मार्क्स र मदन भण्डारी रहेको उहाँले स्पष्ट पार्नुभयो । नेकपा एमालेले आलम्बन गरेको मार्क्सवादी दर्शन र जनताको बहुदलीय जनवाद निक्कै गहन दर्शन भएको पोखरेलले बताउनुभयो । यिनै बिचारले देशलाई समाजवादसम्म पुर्याउने उहाँको धारणा छ ।
प्रतिष्पर्धाको आधारमा श्रेष्ठता हासिल गर्ने कुरा नै जनताको बहुदलीय जनवादको मूलमर्म भएको बताउँदै पोखरेलले त्यही श्रेष्ठता हासिल गरी देशलाई समाजवादसम्म पुर्याउन सकिने बताउनुभयो ।
उहाँले समाज परिवर्तनको लागि विचार र संगठन चाहिने बताउनुभयो । ‘समाज बदल्नका लागि परिवर्तनको विचार चाहिन्छ, परिवर्तनका लागि संगठन चाहिन्छ, परिवर्तनको विचार हुन्छ, परिवर्तनका लागि संगठत चाहिन्छ, यो चिजले नै समाजलाई परिवर्तन गर्दछ, समाजलाई परिवर्तन गर्नु छ भने विचारको भरोसा गर्नुपर्छ, यो भएन भने अवसरवाद जन्मिन्छ, एकले अर्कालाई नटेर्ने, आफ्ना बारेमा मात्रै सिच्ने, यो परिवर्तन विरोधी विचार हो’, उहाँले भन्नुभयो ।
विचारले नै सामूहिकतामा विश्वास गर्ने बनाउने बताउँदै उहाँले विचार भएन भने मानिस अराजक बन्ने बताउनुभयो । यो परिवर्तनको विरोधी भएको उहाँले स्पष्ट पार्नुभयो ।
संगठनको नेतृत्वमा रहेका मानिसहरूले हरके प्रश्नको उत्तर खोज्नु पर्ने बताउँदै त्यो जवाफ सामूहिक रूपमा खोज्नु पर्नेमा पोखरेलले जोड दिनुभयो । यसले संगठनलाई अघि बढाउने उहाँले स्पष्ट पार्नुभयो ।
२०६३ को परिवर्तन पछि नागरिकले धेरै अपेक्षा गरेका भए पनि त्यो पुरा हुन नसक्दा असन्तुष्टि बढेको पोखरेलले बताउनुभयो । क्रान्तिले उत्पादन सम्बन्धमा बदलाव र राज्य सत्ताको वर्गमा परिवर्तन ल्याउने उहाँको धारणा छ । नेपालको क्रान्तिले राज्य सत्तामा परिवर्तन ल्याएको भए पनि उत्पादन सम्बन्धमा आशातीत बदलाव ल्याउन नसकेको पोखरेलले बताउनुभयो ।
उहाँले राज्य सत्तामा श्रमजीवी वर्गको नेतृत्व स्थापित गराउन एमालेको नीति राष्ट्रको नीति बन्नु पर्ने बताउनुभयो । राज्य सत्तामा एमालेको एकल नेतृत्व नहुँदासम्म देशमा श्रमजीवी वर्गको नेतृत्व स्थापित हुन नसक्ने पोखरेलले स्पष्ट पार्नुभयो ।
युवा पुस्ताले देश भित्रै केही गर्छु भन्ने सपना नदेख्दासम्म देश नबन्ने उहाँले बताउनुभयो । मुलुक भित्रै रोजगारी र उद्यमका सम्भावना हुँदा हुँदै विदेश जाने र देशलाई गाली गरेर देश नबन्ने उहाँले बताउनुभयो । देश कसैले आएर नबनाइदिने बताउँदै देश त्यही देशका युवाले बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्