काठमाडौं, कात्तिक २ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले चीन भ्रमण फलदायी भएको बताउनु भएको छ । विकास, द्विपक्षीय सम्बन्ध र अनुभव आदानप्रदानका लागि मुख्यमन्त्रीको भ्रमण अत्यन्तै फलदायी भएको मुख्यमन्त्री पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर कसीले आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको हो ।
चीनको सिचुवान प्रान्तले आयोजना गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सिचुवान अन्तरराष्ट्रियमैत्री शहरहरूको सम्मेलनको लागि असोज २७ गते चीन पुग्नुभएका मुख्यमन्त्री पोखरेल शुक्रबार स्वदेश फर्कनुभएको हो । विश्वका ३२ देशका ४३ प्रान्त तथा शहरहरूको सहभागिता भएको सो सम्मेलनको उदघाटनसत्रलाई सम्बोधन गर्दै सत्तारुढ नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र त्यस अवसरमा भएका समझदारी तथा सम्झौताले नेपालमा उत्साह ल्याएको र नेपाल—चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको प्रष्ट पार्नुभएको थियो ।
राष्ट्रपति सीले अघि सारेको बिआरआई एक विश्वव्यापी अभियान भएको, यसमा आवद्ध सहभागी राष्ट्रहरूबीच सहकार्य गर्न र विकासका नयाँ सम्भावनाहरू खोज्न लाभदायक हुने निश्कर्षसमेत मुख्यमन्त्री पोखरेलले सुनाउनु भएको थियो । उदघाटनसत्रपछि भएको गभर्नरहरूको सम्मेलनलाई विशेष सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालले छिट्टै छेन्दुमा महावाणिज्य दूतावास खोल्ने बताउनुभयो । सम्मेलनपश्चात भगिनी सम्बन्ध कायम भएका प्रान्त र शहरहरुबीच विकास निर्माणका लागि केही साझा अवधारणाहरू बनाएर अघि बढ्ने समझदारी भएको छ । सिचुवान प्रान्त र प्रदेश नं ५ बीच गत असार १७ गते भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको थियो ।
त्यसैगरी सम्मेलनको संस्कृति तथा पर्यटनसत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले बुद्धजन्मस्थल लुम्बिनीलगायतका पर्यटकीयस्थलको महत्वबारे जानकारी दिई कार्यक्रममा सहभागीता जनाएकाहरुलाई लुम्बिनी भ्रमणका लागि निम्तो दिनुभएको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानास्थलमा छेन्दुुबाट सिधा उडानका लागि सिचुवान प्रान्त सरकारलाई सहयोगका लागि अनुरोध गर्दै उहाँले सिधा उडानले बुद्धजन्मस्थल लुम्बिनी आउन चाहने चिनियाँ, खासगरी सिचुवानका जनताका लागि फाइदा पुग्ने बताउनु भयो । मुख्यमन्त्री पोखरेलले लुम्बिनीलाई सिचुवान सरकारले रणनीतिक पर्यटकीयस्थलको रूपमा समेट्नु उपयुक्त हुने सुझावसमेत दिनुभएको छ ।
सम्मेलनको उदघाटनसत्रलाई सम्बोधन गर्दै सत्तारुढ नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र त्यस अवसरमा भएका समझदारी तथा सम्झौताले नेपालमा उत्साह ल्याएको र नेपाल—चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको प्रष्ट पार्नुभएको थियो
पाँचदिने भ्रमण दलमा प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, प्रदेश नं ५ का प्रमुख सचिव तोयनारायण ज्ञवाली, प्रदेश योजना आयोगका सदस्य डा. विष्णुप्रसाद गौतम र मुख्यमन्त्रीका स्वकीय सचिव सरोजकुमार रेग्मीको सहभागिता रहेको थियो । पोखरेल नेतृत्वको नेपाली टोलीले सिचुवान प्रान्तस्तरीय कम्युनिस्ट पार्टी प्रमुख नेतृत्वको पार्टी तथा प्रान्तीय सरकारको टोलीसँग प्रदेश औपचारिक भेटघाट तथा छलफलसमेत गरेको थियो । भेटमा विशेषगरी बिआरआईअन्तर्गत पर्यटन, जडीबुटी, उद्योग, आइटी र छात्रवृत्ति आदानप्रदान गर्ने विषयमा छलफल भएको जारी बिज्ञप्तीमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्