सुर्खेत, कात्तिक १८ । सुर्खेत भेरीगङ्गाका( ११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त हुनुहुन्छ । अरु बेलाभन्दा तिहारको समयमा फूलको माग बढ्ने भएकाले समिरलाई भ्याइ नभ्याइ छ । उहाँले तिहारमा मात्रै पाँच लाख रुपैयाँको फूलहरु बेच्ने लक्ष्य राख्नुभएको छ ।
भाइटीकाको दिनअघिसम्म समीरले करिब तीन लाख ५० हजार रुपैयाँको कारोबार गरिसक्नुभएको छ । सुर्खेतमा फूल प्रति किलोग्राम चार सय रुपैयाँमा बिक्री हुने गरेको छ । ‘तिहार र छठ पर्वसम्म ५ लाख बराबरको फूल बेच्ने लक्ष्य लिएको समिर बताउनुहुन्छ । अहिले फुलको मुल्य पनि राम्रै छ, तिहारमा मात्रै रु पाँच लाखको बेच्ने मेरो लक्ष्य छ, त्यसको नजिकै छु,’ खत्रीले भन्नुभयो ।
२४ वर्षीय समीर मध्यपश्चिम विश्वविद्यालयमा बाली विज्ञान पढ्दै हुनुहन्छ । आफूले पढेर आर्जन गरेको ज्ञानको प्रयोग गर्दै सुर्खेत सदरमुकामदेखि पूर्वीक्षेत्रमा पर्ने भेरीगंगा नगरपालिका— ११ मा आठ रोपनी जमिनमा उहाँले विभिन्न प्रजातिका फूल लगाएर मनग्य आम्दानी लिइरहनु भएको छ । वार्षिक आम्दानी रु आठ लाखसम्म हुने गरेको समीरले सुनाउनु भयो । उहाँले धेरैजसो सयपत्री फूल उत्पादन गरिरहनु भएको छ ।
‘अरु समयमा विभिन्न कार्यक्रम, सभा र पूजाआजाको लागि बिक्री हुन्छ भने तिहारको बेलामा सबैभन्दा धेरै बिक्री गर्छु, जसले स्वरोजगार त बनाएको छ नै, किताबी ज्ञान व्यवहारमा प्रयोग भइरहेको छ,’ समीरको भनाइ छ ।
उहाँले यो व्यवसाय सुरु गरेको दुई वर्ष भयो । गत वर्ष रु सात लाख रकम आम्दानी गरेर हौसिएका समीर यसवर्ष रु दश लाख आम्दानीमा आशावादी हुनुहुन्छ । ‘गतवर्ष २० क्विन्टलभन्दा धेरै जिल्ला बाहिर निर्यात गरेको थिए, यसवर्ष पहिलोभन्दा बढी उत्पादन हुन्छ, किनकि ६ रोपनी जग्गाबाट बढाएर ८ रोपनीमा खेती विस्तार गरेको छु,’ उहाँले भन्नुभयो ।
समीरले वायो ग्रीन एग्रो प्रालि नामक फर्म दर्ता गरेर त्यहीमार्फत कारोबार गरिरहनुभएको छ । कारोबार राम्रै भए पनि बजारमा सस्तोमा पाइने प्लाष्टिकजन्य फूलका कारण आफूजस्ता व्यवसायीहरू मारमा परेको उहाँको दुःखेसो छ । त्यसैले सरकारले बाहिरबाट आउने यस्ता फूलमा रोक लगाउनुपर्ने समीरको माग छ ।
उहाँ भन्नुहुन्छ, ‘हाम्रो लागि धेरै अवसरहरू नेपालमै छन् तर अलिकति मेहेनत गर्नुपर्छ, कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने छैन तर यसमा सरकारले पनि प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नेदेखि युवालाई ज्ञान र सीप दिन लाग्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्