कास्की, कात्तिक २५ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले थप १३ दिनको म्याद दिएको छ ।
जिल्ला अदालत कास्कीले आइतबार लामिछानेसहित समान कसूरमा हिरासतमा रहेका चारै जनालाई अनुसन्धानका लागि थप १३ दिनको अनुमति दिएको हो । न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलगायत चारै जनालाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं र रामबहादुर खनाललाई १३ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।
लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो। लामिछानेलाई सुरुमा ६ दिन, त्यसपछि ७ दिन र १० दिन म्याद थप गरी अनुसन्धान गरिएको थियो । २३ दिन म्याद थप भएपनि अनुसन्धान नसकिएको कारण आइतवार पुनः १३ दिन म्याद थप गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्