जनता टाइम्स

२ मंसिर २०८१, आईतवार १८:२३

अर्थतन्त्रका बाह्य र आन्तरिक सूचक दुवै सकारात्मक बन्दै गएका छन : अर्थमन्त्री पौडेल


काठमाडौं, मंसिर २ । अर्थमन्त्री विष्णुप्रसद पौडेलले पछिल्ला दिनमा अर्थतन्त्रका बाह्य पक्षहरू सवल र सकारात्मक बन्दै गएको जानकारी दिनुभएको छ ।

नेपाल राष्ट्र बैंकले बुझाएको आर्थिक वर्ष २०८०/०८१ को आय/व्ययको प्रतिवेदन बुझ्दै अर्थमन्त्री पौडेलले यस्तो जानकारी दिनुभएको हो ।

उहाँले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचक सकारात्मक बन्दै गएको बताउनु भयो । ‘अर्थतन्त्रका बाह्य पक्षहरू सवल र सकारात्मक रहेका छन। विदेशी मुद्राको सञ्चिति राम्रो छ। रेमिट्यान्सको आप्रवाह राम्रो छ । बैंकमा तरलता राम्रो छ। ब्याजदर घटेको छ,’ अर्थमन्त्री पौडेलले भन्नुभयो ।

अर्थतन्त्रका बाह्य सूचक सकारात्मक बन्दै गएपनि केही चुनौती भने देखा परेको उहाँले बताउनु भयो । अर्थमन्त्री पौडेलले सुधार भएपनि आयात, निर्यात र राजश्व, पुँजीगत खर्चलगायत क्षेत्रमा सोचेजस्तो नतिजा ल्याउन नसकेको बताउनु भयो।

‘केही चुनौतीहरू देखापरेका छन । समग्रमा माग घटेको छ। उत्पादन, रोजगारी, आयात, निर्याता, राजश्व, पुँजीगत खर्चजस्ता कुरामा तुलनात्मक रुपमा अपेक्षति नतिजा लिन सकेका छैनौं। यी कुरामा नतिजा ल्याउनेगरी काम गर्नुपर्नेछ,’ अर्थमन्त्री पौडेलले भन्नुभयो ।

अर्थमन्त्री पौडेलले राष्ट्र बैंकले अवलम्बन गरेका मौद्रिक नीतिहरूले नेपालको आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पर्दै गएको र बैंकहरूको सस्तो ब्याजदरलाई उत्पादन क्षेत्रमा सदुपयोग गर्न सके आर्थिक क्षेत्रमा फड्को मार्न सकिने बिश्वास पनि ब्यक्त गर्नुभयो ।

‘पछिल्लो दिनमा बैंकको ब्याजदर र तरलताको अवस्था स्वीकार गर्ने अवस्थामा छौं। ब्याजदरको सहजतालाई उत्पादनको क्षेत्रमा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने प्रश्न पनि उब्जिएको छ । यसमा राष्ट्र बैंकको ध्यान जानेछ,’ अर्थमन्त्री पौडेलको भनाई छ ।