जनता टाइम्स

६ माघ २०८१, आईतवार १२:५४

युवाका लागि रोलमोडल लक्ष्मण, जो किवीको बिरुवा बेचेरै कमाइरहेछन बार्षिक ५ लाख


डडेलधुरा, माघ ६ । दिनदिनै बिदेसिने नेपाली युवाहरुको भीड त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बढदो छ । स्वदेशमा अवसर छैन भन्दै बिदेसिने युवाको भीडमा डडेलधुराका एक युवा भने रोल मोडल बनेका छन ।

मेहनत गरे नेपालमै मनग्य कमाइ गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन डडेलधुराको आलीताल निवासी लक्ष्मण थापा मगर । किवीको बिरुवा बिक्री गरेरै आलिताल गाउँपालिका–२ का लक्ष्मणले वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आउनु भएको छ । लक्ष्मणले विगत तीन वर्षदेखि ध्रुव कृषि फार्म सञ्चालन गर्दै आउनु भएको छ ।

थापामगरले अहिले डडेल्धुरामा उत्पादन गरिएका विभिन्न प्रजातिका किवीका बिरुवा सुदूरपश्चिमका विभिन्न जिल्लामा बिक्री गर्नहुन्छ । फार्मबाट रेडकिवी, हेवार्ड, ब्रुनो, मन्टी एलिसन, जेसबेरी र ग्रिन क्विन गरी छ प्रजातिका किवीको बिरुवाउत्पादन तथा बिक्री भइरहेको छ ।

उहाँले आलिताल –२ को लामिटुडामा रहेका फार्मको शाखा अमरगढी–२ कुस्मालीमा पनि स्थापना गर्नुभएको छ । लामिटुडास्थित फार्ममा करिब १५ रोपनी जमिनमा व्यावसायिक रूपमा किवीखेती गर्दै किवीको बेर्नासमेत उत्पादन गरिरहेको बताउनु भयो । फार्ममा हाल पाँच हजार बिरुवा उत्पादन गरी सुदूरपश्चिमका पहाडी जिल्लामा बिक्री गरिरहेको उहाँको भनाई छ । किसानहरूको मागअनुसार किवीका बोट उपलब्ध गराइरहेको र प्रतिबोट एक सय ५० रुपैयाँका दरले बिक्री भइरहेको लक्ष्मणले जानकारी दिनुभयो ।

डेढ रोपनी क्षेत्रफलमा उहाँले किवीको बेर्ना उत्पादन गरिरहनु भएको छ । किवीको बेर्ना जोगाउन एक–एक हप्तामा गोडमेल गर्नुपर्ने थापाले बताउनु भयो । बेर्ना बिक्री गरेरै वार्षिक पाँच लाख आम्दानी गरिरहनु भएका थापाले आफूले किवीखेती सुरु गर्दा प्रतिबोट पाँच सय रुपैयाँका दरले किनेर लगाएको बताउनुभयो ।

अहिले डडेल्धुरा जिल्लामा ४०–५० किसानले किवीखेती गर्दै आएका छन । सुरुमा एकपटक लगानी गरेपछि ४०–५० वर्षसम्म उत्पादन दिइरहने र बजारको अभाव नहुने भएपछि किसान किवीखेतीतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो । उहाँले भन्नुभयो, ’किवीखेतीका लागि मौसमअनुसार पनि डडेल्धरा उपयुक्त मानिने हुदाँ यस खेतीतर्फ किसान आकर्षित बनेका छन ।