जनता टाइम्स

१३ माघ २०८१, आईतवार १९:२९

सरकारको कदमले अर्थतन्त्र चलायमान बन्यो, अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा पनि सुधार भयो : चन्द्र ढकाल


काठमाडौं, माघ १३ । नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय अर्थतन्त्र चलायमान भएको बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको असरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकारले हालै ल्याएको अध्यादेशले लगानीमैत्री वातावरण बनाएको र अर्थतन्त्र पनि चलायमान बनेको बताउनु भयो । यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने ढकालले स्पष्ट पार्नुभयो । ‘सरकारले कानुन परिवर्तनको लागि जुन आँट गर्यो, यस्ले निजी क्षेत्रको लागि र आर्थिक गतिविधि बढाउनको लागि धेरै सहयोग गरेको छ’, अध्यक्ष ढकालले भन्नुभयो ।

अहिले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचक क्रमशः सुधार हुँदै गएको पनि उहाँले बताउनुभयो । यो आर्थिक क्षेत्र र समग्र देश विकासको लागि खुसीको कुरा भएको ढकालको भनाइ छ ।

ढकालले सबल अर्थतन्त्र निर्माण गर्न भन्सार विभागलाई थप जिम्मेवार र उत्तरदायी बनाउनु पर्ने बताउनुभयो । ‘भन्सार विभागमा देखिएका प्रक्रियागत झन्झटहरू कम हुनुपर्ने आवश्यक छ, वस्तुको मूल्याङ्कन पद्धति अनुसार समेत हुनुपर्छ, विभागका अधिकारीहरूको तजबिजी अधिकार अन्त्य हुनुपर्ने, प्रशासनिक पुनरावलोकनका आदेशहरू प्रभावकारी कार्यान्वयन हुनुपर्ने लगायतका सुझावहरू उद्योग महासंघले दिएको छ, भन्सारले मुलुकको समग्र विकासको लागि व्यापारलाई अग्र स्थानमा राख्नुपर्ने आवश्यक देखिन्छ’, उहाँले भन्नुभयो ।

अनुकूल व्यावसायिक वातावरण बने स्वतः राजश्व वृद्धि हुने उहाँले बताउनुभयो । यसको लागि स्वच्छ व्यावसायिक वातावरण बनाउने कुरामा राज्यको ध्यान जानु पर्नेमा उहाँले जोड दिनुभयो ।