चितवन, फागुन १२ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सत्यको पक्षमा दृढतापुर्वक उभिएर नेपाली पत्रकारले आफूलाई सही सावित गर्नुपर्ने बताउनु भएको छ । प्रेस चौतारी नेपाल सत्यको पक्षमा दृढतापुर्वक उभिने र सत्यको पक्षमा संझौताहीन ढंगबाट लड्ने संगठन भएको तथ्य पनि अध्यक्ष बस्नेतले प्रष्ट पार्नुभएको छ ।
प्रेस चौतारी नेपाल वाग्मती प्रदेशको दोस्रो अधिवेशनमा बोल्दै अध्यक्ष बस्नेतले सत्य जतिसुकै तितो भए पनि प्रेस चौतारी नेपाल त्यस्को पक्षमा दृढतापुर्वक उभिने र स्वाभिमानको पक्षमा नेपाली जनतालाई सचेत बनाउने बताउनु भयो । ‘आज स्वाभिमान र समृद्धिको झण्डा उठाउने देश निर्माणका नायकबिरुद्ध जेजसरी आक्रमण भइरहेको छ, त्यो निकै खतरनाक र सुनियोजित रहेको छ । नेपाल बन्न नदिने उदेश्यका साथ गरिएको ती आक्रमण र अफवाहलाई चिरेर अगाडि बढने हिम्मत हामीले गर्नैपर्छ,’ अध्यक्ष बस्नेतले भन्नुभयो, ‘सत्य तितो हुन्छ तर सत्य छाड्नु हुन्न ।’
अध्यक्ष बस्नेतले प्रेस चौतारी नेपालको सदस्यहरू अब सोसल मिडियाको लडाइँमा उत्रिनु पर्नेमा पनि जोड दिनुभयो । सोसल मिडियामार्फत पार्टीको नीति र नेतृत्वविरुद्ध भइरहेको आक्रमणको सोही मोर्चामा दृढतपुर्वक डटेर पराजीत गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली र एमालेविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आक्रमण समृद्धिको अभियान र स्वाभिमान विरुद्धको आक्रमण भएको तथ्य पनि बस्नेतले औल्याउनु भयो । प्रधानमन्त्री ओलीबिरुद्ध भइरहेको आक्रमणविरुद्ध प्रेस चौतारी सम्बद्ध पत्रकारलाई अरिङ्गाल खनिए जस्तै खनिन निर्देशन दिनुभयो । ‘यसका लागि योजना बनाएर अघि बढ्नुस्’, उहाँले भन्नुभयो ।
संगठनमा खेलेको भूमिका आधारमा चौतारी आबद्ध पत्रकारलाई नेपाल पत्रकार महासंघमा पठाएको उहाँले बताउनुभयो । प्रेस चौतारीले काम गर्ने पत्रकारलाई खोजेरै सम्मान गर्ने र गरेको बस्नेतले स्पष्ट पार्नुभयो । त्यसैले चौतारीका सदस्यलाई नबहकिन पनि उहाँले आग्रह गर्नुभयो ।
अहिले समाजमा अराजकता फैलँदै गएको बताउँदै उहाँले त्यसको विरुद्ध पत्रकार एक ठाउँमा उभिनु पर्ने बताउनुभयो । गलत काममा सचेत गराउनु पर्ने तर सरकारले गरेका राम्रा काममा सरकारलाई सहयोग गरेर जानु पर्ने अध्यक्ष बस्नेतले स्पष्ट पार्नुभयो । ‘ प्रेसको काम सरकारमाथि प्रश्न उठाउने नै हो । औंला ठड्याउने नै हो तर गलत काम नहोस भनेर यी सवै काम गर्नुपर्छ । नेपाली पत्रकारिताले अराजकतालाई साथ दिने होइन, समृद्धिलाई साथ दिने हो,’ अध्यक्ष बस्नेतले भन्नुभयो ।
प्रेस चौतारी नेपाल स्वाभिमानको पक्षमा लड्ने संगठन भएको बताउँदै उहाँले कुनै पत्रकारको स्वाभिमानमा आँच आउने काम गरिए संगठन सतिसाल जस्तै भएर उभिने बस्नेतले चेतावनी दिनुभयो । ‘देश, देश बनाउने नायक र संठनको स्वाभिामान सवैभन्दा माथि हो । स्वभाविमानमाथि कसैले आक्रमण गर्छ भने त्यस्तालाई जस्ताको तस्तै जवाफ दिएर कहिल्यै उठन नसक्ने गरी धुलो चटाइन्छ,’ अध्यक्ष बस्नेतको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्