जनता टाइम्स

२२ असार २०८२, आईतवार ०७:२८

बीपी राजमार्गमा आजदेखि थप एक महिना रातिको समयमा गाडी चलाउन रोक


काठमाडौं, २२ असार ।  बीपी राजमार्गमा आजदेखि थप एक महिना रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म बेलुका साढे ६ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि गाडी चलाउन रोक लगाउने निर्णय भएको हो ।

रातमा साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । मनसुन सक्रिय भएको अवस्थामा बीपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटनाको जोखिम न्यूनीकरण गर्न पछिल्लो निर्णय गरिएको हो ।

यसअघि गएको असार ६ गते काभे्र, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको निर्णयले बीपी राजमार्गमा असार ७ गतेदेखि रातमा झन्डै १० घण्टा १५ दिनका लागि रोक लगाएको थियो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार आजदेखि काठमाण्डौबाट छुटेका गाडी काभ्रेभञ्ज्याङ र काठमाण्डौतर्फ आउनेलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने छ । गएको वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्ग क्षति ग्रस्त भएको थियो । पूर्वी नेपाललाई काठमाण्डौसँग जोड्ने छोटो दूरीका रूपमा रहेको यो राजमार्गबाट दैनिक हजारौँ गाडी चल्छन् । क्षतिग्रस्त राजमार्ग निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढेको छ ।