काठमाडौं, चैत २९ । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक शुक्रबार सम्पन्न भएको छ ।
पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालको अध्यक्षता तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा बैठक भएको हो ।
बैठकमा बोल्दै उपमहासचिव ज्ञवालीले नेकपा एमाले नेतृत्वको वर्तमान सरकार बनेपछि देश स्थिरताको बाटोमा अघि बढेको बताउनुभयो । देशलाई स्थिरता र सुशासन दिनकै लागि देशका दुई ठुला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको उहाँले दाबी गर्नुभयो ।
उहाँले अहिले पनि मुलुकलाई अस्थिरताको बाटोमा लैजान अनेक खालका षडयन्त्रहरू भइरहेका बताउनुभयो । राजवादीको नाममा काठमाडौंमा गराइएको घटना त्यसकै उदाहरण भएको उहाँको भनाइ छ ।
‘केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि जब मुलुक स्थिरताको कोर्षमा गएको उद्घोष गर्नुभयो, तब मुलुकलाई अस्थिरतामा लान खोज्ने गतिविधि हुन थाले’, उहाँले भन्नुभयो ।
मुलुकलाई अस्थिरतामा लैजान जति प्रयास भए पनि त्यो सफल हुन नसक्ने बताउनुभयो । अस्थिरताले देश समृद्धिको बाटोमा अघि बढ्न नसक्ने उहाँको धारणा छ ।
बैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं संयन्त्रका संयोजक भानुभक्त ढकालले राजनीतिमा युवालाई जोड्नु आजको आवश्यकता भएको बताउनुभयो । त्यसैलाई दृष्टिगत गरी नेकपा एमालेले युवा केन्द्रित अभियान सुरु गरेको उहाँले जानकारी दिनुभयो । पार्टीले यस वर्षको स्थापना दिवस कार्यक्रम नै युवा लक्षित गरेर बनाएको उहाँले जानकारी दिनुभयो ।
पार्टीले यस वर्षको स्थापना दिवसको अवसरमा युवा उत्सव गर्न लागेको उहाँले बताउनुभयो । नेता ढकालले बैशाख ९ गतेको पार्टी स्थापना दिवस र ११ गतेको युवा उत्सवलाई ऐतिहासिक बनाउनका लागि जुट्न पार्टीका सबै जनसंगठनलाई आग्रह गर्नुभयो ।
यसमा युवाको ऐतिहासिक सहभागिता हुने गरी लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
बैठकमा एमाले स्थायी कमिटी सदस्य, नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम पार्टी पोलिटब्युरो, केन्द्रीय कमिटीका नेताहरू तथा जनसंगठनका प्रमुखहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्