काठमाडौं, बैशाख १ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सकिएको छ ।
नयाँ बर्ष २०८२ कै दिन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अोलीको अध्यक्षतामा केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको योजनामा योजनावद्ध रुपमा राजनीतिक ब्यवस्थालाई उल्ट्याउने षडयन्त्रमा लागेको भन्दै सतर्क र सचेत रहन आम जनतालाई अपिल गरेको छ ।
बैठकले पार्टी स्थापना दिवसलाई भब्यपुर्वक मनाउने निर्णय पनि गरेको छ । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले स्थापना दिवसको अवसरमा बिशेष कार्यक्रम आयोजना गर्ने जानकारी दिनुभयो । बैठकले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा नयाँ वर्षसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्ति खारेज गरेको छ । एमाले केन्द्रीय सचिवालय बैठकले प्रचण्डको सरकार परिवर्तनको भनाइ सत्ताबाहिर हुँदाको कुण्ठा र पीडा भएको निचोड निकालेको हो ।
‘प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ । यो सरकार बाहिर हुँदाको कुण्ठा र पीडाबोध प्रकट हुन्छ । अहिले सरकार परिवर्तन न कतैबाट सम्भव र सान्दर्भिकता छ न औचित्य छ । राष्ट्रिय राजनीतिको यावत कुरा छाडेर सरकार परिवर्तनको कुरामात्र गर्नु भनेको सत्ता मोहबाहेक केही होइन । भ्रम सिर्जना गर्ने कोशिष भएको छ । त्यसलाई हामीले खण्डन गरेका छौं,’ बैठकपछि उपमहासचिव ज्ञवालीले भन्नुभयो ।
जनताको असन्तुष्टिलाई भने सम्बोधन गरेर जानुपर्ने निश्कर्ष एमालेको छ । अझै ‘बेटर पर्फर्मेन्स’ का लागि सरकारलाई भनिरहेको भन्दै उहाँले भन्नुभयो, ‘केही कमीकमजोरीलाई आधार मानेर कोही व्यवस्था नै पल्टाउन कोसिस गर्ने अर्काथरी सरकार परिवर्तनको ध्यानमा मात्र जाने अस्थिरताका प्रयत्न हुन् ती गलत हुन् । सफल हुँदैनन ।’
प्रतिक्रिया दिनुहोस्