जनता टाइम्स

४ बैशाख २०८२, बिहीबार १३:४९

सरकारले गति बढाएर गठबन्धन दलसँग समन्वय रनियुक्तिमा पनि सन्तुलन मिलाउनुपर्छ : कांग्रेस


काठमाडौं, बैशाख ४। सत्ता साझेदार नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गति बढाउनु पर्ने र गठबन्धन दलहरुसँग समन्वय हुनुपर्ने निष्कर्ष निकालेको छ।

सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बुधवार बसेको पदाधिकारी बैठकले यस्तो निश्कर्ष निकालेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाँले बैठकले दुई दलबीच कुनै समस्या नरहेको तर सत्ता गठबन्धनमा रहेका दलहरुबीच समन्वय हुनुपर्नेमा जोड दिएको पनि बताउनु भयो ।

‘सरकारले सशक्त डेलिभरी दिन सक्नुपर्छ र तालमेल राम्रो मिल्नुपर्छ भन्ने कुरा उठेको छ। त्यो सम्बन्धमा नेतृत्व तहले कुराकानी गरिरहेको छ। सुधार आवश्यक भएको ठाउँमा थप समन्वय गर्नुपर्छ भन्ने कुरा आएको छ,’ प्रवक्ता महतले भन्नुभयो । उहाँका अनुसार बुधवारको बैठकमा सरकारप्रति असन्तुष्ट नेताहरूले आफ्नो कुरा राखेका छन ।

‘गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलले चाहेजस्तो हुँदैन, चाहे प्रधानमन्त्री भएको दलको किन नहोस। त्यसैले सत्ता गठबन्धन दलहरुबीच समन्वयको आवश्यकता छ। सबैको कुरा समेट्नुपर्ने छ। नियुक्तिमा पनि सन्तुलन मिलाउनु पर्छ,’ बैठकको निश्कर्ष सुनाउँदै प्रवक्ता महतले भन्नुभयो । उहाँका अनुसार बैठकमा सभापति देउवाले आफूले प्रधानमन्त्रीसँग कुरा गरिरहेकाले नमिलेका कुराहरूमा सहमति जुटने जानकारी दिनुभएको छ ।