काठमाडौं, बैशाख ४ । नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा ६ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) बढुवा सिफारिस भएका छन । एआइजी बढुवा समितिले बुधवार रिक्त ६ पदका लागि ६ जनाको नाम सिफारिश गरेको हो ।
गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले जारी गरेको सूचनाअनुसार एआइजीमा एक नम्बरमा डिआइजी चन्द्रकुबेर खापुङ सिफारिस हुनुभएको छ । आइजीपी दीपक थापापछि प्रहरीको नेतृत्व लिने गरी खापुङ पहिलो नम्बरमा सिफारिश हुँदा राष्ट्रिय अनुसन्धान विभागबाट समायोजन भएकाहरु सवै छुटेका छन ।
समितिको सूचनाअनुसार बरियताक्रममा खापुङपछि लालमणी आचार्य र कृष्णहरी शर्मा पोखरेल सिनियर ब्याचबाट बढुवा सिफारिस हुनुभएको छ । यस्तै प्रहरीको १११ को ब्याचबाट पहिलो नम्बरमा दानवहादुर कार्की, दोस्रोमा राजन अधिकारी र तेस्रोमा डा.मनोज केसी बढुवा हुनुभएको छ ।
राष्ट्रिय अनुसन्धानबाट आएका एसएसपीसम्म आफूहरु अगाडि बढुवा भएको भन्दै एआइजी बढुवामा सिनियरिटीका लागि दबाब बढाएका थिए । उक्त टोली बाहिरिदा नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा भर्ना भएको १११ टोलीबाट आगामी प्रहरी महानिरीक्षक सुनिश्चित भएको छ ।
नेपाल प्रहरीको ‘१११ टोली’ ले डीआईजी बढुवाको वरियता कायम हुनुपर्ने विषयलाई जोडतोडका साथ उठाइरहेको थियो । तर, राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा समायोजन भएको टोलीले त्यस्तो अभ्यास अबलम्बन गरिनु हुँदैन भन्दै आफ्नो पक्षको अडानलाई राजनीतिक नेतृत्वमार्फत व्यापक बनाएको थियो ।
प्रहरी इन्स्पेक्टर दर्जामा २०५४ चैत १८ मा नियुक्त भएको टोलीलाई ‘१११’ भनिन्छ । उक्त टोलीले अहिले अनुसन्धान विभाग सेवा परिवर्तन गरी प्रहरी सेवामा आएका अधिकृतलाई रोक्ने प्रयास गरेका थिए । नेपाल प्रहरीको विद्यमान व्यवस्थाअनुसार ३० वर्षे सेवा अवधि कायम रहेमा आउने साउन १७ गते चन्द्रकुवेर खापुङको आईजी बन्ने बाटो खुलेको छ । उहाँले कात्तिक २६ सम्म उक्त पद सम्हाल्ने छन ।
त्यसपछि एआईजी बढुवाको वरियताअनुसार नै आईजी नियुक्त भए कार्कीले नेतृत्व गर्नुहुनेछ । यसमध्ये लालमणि आचार्य जेठ ११ गते उमेरहदका कारण अवकास हुन्छन । खापुङ, आचार्य र शर्मा २०५२ कात्तिक २७ मा प्रहरी निरीक्षकमा नियुक्त हुनुभएको थियो । बीचमा ३० वर्षको सेवा हद हेरफेर भएर उमेरहदले अवकाश हुने व्यवस्था भएमा अहिलेका आइजी दीपक थापाले २०८४ चैत ३ गतेसम्म जिम्मेवारी सम्हाल्नु हुनेछ ।














प्रतिक्रिया दिनुहोस्