काठमाडौ, ५ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई हराएको छ ।
हिजो भएको खेलमा मुम्बईले हैदराबादलाई चार विकेटले हराएको हो । मुम्बईको यो लगातार दोस्रो जीत हो । हैदराबादले दिएको १६३ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ ओभर १ बलमा ६ विकेट गुमाउँदै १६६ रन बनायो ।
मुम्बईका विल ज्याक्सले सर्वाधिक ३६ रन बनाए । रायान रिकेल्टनले ३१ जोडे । हैदराबादका कप्तान प्याट कमिन्सले तीन विकेट लिए ।
त्यसअघि वानखेडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६२ रन बनाएको थियो । हैदराबादका ओपनर अभिषेक शर्माले सर्वाधिक ४० रन बनाए । हेनरिक क्लासनले ३७ रन जोडे । मुम्बईका विल ज्याक्सले दुई विकेट लिए ।
जीतसँगै सातौं स्थानमा कायम रहेको मुम्बईले सात खेलबाट ६ अङ्क पुर्याएको छ । हैदराबादले भने पाँचौं हार बेहोरेको छ । हैदराबाद समान खेलबाट चार अङ्कसहित नवौं स्थानमा छ ।
इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र पन्जाब किङ्ग्स खेल्ने छन् ।
प्रतिक्रिया दिनुहोस्