जनता टाइम्स

१४ बैशाख २०८२, आईतवार ०७:०७

ओली–देउवाबीच बालुवाटारमा दुई घन्टा वार्ता, थप मजबुत भएर काम गर्न तयार


काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाबीच भेटवार्ता भएको छ ।शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै २ घन्टा दुई नेताबीच छलफल भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताउनुभयो ।

उहाँका अनुसार, दुई नेताबीच पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छालफल भएको हो । विशेषगरी पछिल्लो पटक सरकार ढल्ने भन्दै भएका प्रचार र उक्त भ्रम चिर्नेगरी दुई नेताबीच छलफल भएको पौडेल बताउनुभयो । सरकार ढल्छ भन्ने भ्रमपूर्ण प्रचारको कुनै तुक छैन, बाहिर भएको हल्लाजस्तो केही छैन भन्ने नै दुवै नेताबीच मोटामोटी सहमति छ, अर्थमन्त्री पौडेलले भन्नुभयो । प्रधानमन्त्री ओली र सभापति देउवाले १२ गतेबाट सुरू भएको संसदको बजेट अधिवेशनबारे पनि छलफल गर्नुृभएको छ। आन्दोलनरत शिक्षकका माग सम्बोधन, कक्षा १२ को परीक्षा, बजेट निर्माण, गभर्नर नियुक्ति लगायतका विषयमा उनीहरूबीच छलफल भएको थियो ।

उहाँहरु साढे ७ बजेदेखि साढे ९ बजेसम्म छलफलमा बस्नुभएको थियो । पौडेलले भन्नुभयो, बाहिर भएका हल्लामा सत्यता छैन, सरकारले गम्भीर भएर जनताको हितको पक्षमा काम गर्ने र आवश्यक सहजीकरण दुवै दलले गर्ने भन्नेमा दुवै नेता एकमत देखिनुहुन्छ ।देउवा थाइल्यान्ड भ्रमणमा हुँदा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले सरकार ढल्ने दाबी गर्नुभएको थियो। देउवाले विमानस्थलबाटै सरकारबारे स्पष्टीकरण दिनुपरेको थियो । लगत्तै प्रधानमन्त्री ओलीसङ्ग भेटेर थप मजबुत भएर काम गर्न आफू तयार रहेको बताउनुभएको छ ।