रौतहट, १४ बैशाख । टिकटक बनाउने बहानामा बोलाएर रौतहटमा एक जना बालकको गोली हानी हत्या भएको छ । प्रहरीका अनुसार १४ वर्षीय बालकलाई टिकटक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुर्याई हत्या गरेको पाइएको हो ।
६ वैशाखमा रौतहटको वृन्दावन नगरपालिका–७ का बालक कृष्णप्रसाद यादवलाई टिकटक बनाउने भन्दै मोबाइलमा फोन गरेर २५ वर्षीय नागेन्द्र सहनीले बोलाएका थिए ।
दिउँसो ४ बजे घरबाट बीआर०५डब्लू०१३७ नम्बरको भारतीय मोटरसाइकल चढेर गरुडा नगरपालिका(८ को चाँदी खोलामा जाने क्रममा गढीमाई मन्दिर नजिक पुगेपछि उनलाई २५ वर्षीय नागेन्द्र सहनी र साधु भनिने २२ वर्षीय अर्का व्यक्ति नागेन्द्र सहनीले बालक यादवलाई कब्जामा लिएर चाँदी खोलातर्फ लगेका थिए ।
रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार दुवै परिवारबीच पुरानो रिसिइबी रहेको पाइएको छ । सोही रिसिइबी साँध्न नागेन्द्रले बालक कृष्णलाई टिकटक बनाउने बाहनामा बोलाएर हत्या गरेको देखिन्छ ।
केही समय पहिले कृष्णका बुबाले सञ्चालन गरेको इँटा भट्टाको खाल्डोमा डुबेर नागेन्द्र सहनीकी भतिजीको मृत्यु भएको थियो । तर कृष्णको बुबाले मारेको आरोप सहनी परिवारले लगाउँदै आएका थिए । प्रहरीले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘तीन वर्षअघि कृष्णको बुबालाई अपहरण गरेको आरोपमा नागेन्द्र सहनीका दाजु धर्मेन्द्र सहनीमाथि समेत अपहरण मुद्दा दायर भएको रहेछ । यो मुद्दा अहिले पनि चलिरहेको र हाल उनी फरार रहेका छन् ।’
सोही पुरानो रिसिइबीका कारण टिकटक बनाउने बहानामा कृष्णलाई बोलाएर छातीमा २ राउन्ड गोली हानेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । हत्यापश्चात् दुवैजनाले मृतकको मोटरसाइकल प्रयोग गर्दै दुर्गाभगवती गाउँपालिका–५ स्थित बहिनीको घरमा टिनको बाकसमा पेस्तोल लुकाएको भेटिएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिनुभयो । उनीहरूले मोटरसाइकलको नम्बर प्लेट भाँचेर माटोमा गाडेको र एक दिनपछि पुनः उक्त मोटरसाइकल गौर नगरपालिका(४ का विकास पटेललाई बेचेको प्रहरी अनुसन्धाबाट खुलेको घिमिरेले बताउनुभयो । मोटरसाइकललाई टुक्रा पारेर प्रमाण नष्ट गर्न उनीहरूले गौरमा रहेको एक ग्यारेजमा पुर्याएका थिए । घिमिरेका अनुसार मोटरसाइकल खरिद गर्ने विकास पटेल र ग्यारेजका मालिक अनिल साहलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्