जनता टाइम्स

२५ बैशाख २०८२, बिहीबार ०१:०२

युवा पुस्तामाझ लोकप्रिय प्रदीप नेपाल कार्यकर्ताका निम्ति ऊर्जा र प्रेरणाको स्रोत हुनुहुन्थ्याे : एमाले


काठमाडौं, बैशाख २५ । नेकपा एमालेले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता तथा प्रगतिवादी साहित्यकार प्रदीप नेपालको निधन प्रति दुःख व्यक्त गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गरी मंगलबार नेपालको निधन भएकोमा सिङ्गो पार्टीका तर्फ श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । एमालेले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

२०१० साल पुस २८ मा भोजपुर गोगनेमा जन्मिनुभएका प्रदीप नेपाल त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्दै गर्दा स्वतःस्फूर्त रूपमा विद्यार्थी आन्दोलनमा सहभागी हुनुभएको थियो । २०२९ मा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका नेपाल उहाँ बहुचर्चित नख्खु जेल विद्रोहबाट जेलबाट बाहिर आउनु भएपछि कोअर्डिनेशन केन्द्रको सङ्गठन विस्तारमा सक्रिय हुनुभएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वमन्त्री नेपाल तत्कालीन नेकपा (माले) र नेकपा (एमाले) का संस्थापक केन्द्रीय सदस्य हुनुहुन्थ्यो । १४ वर्ष लामो भूमिगत जीवनमा उहाँले लुम्बिनी, मेची, प्रवास र काठमाडौंको पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको विज्ञप्तिमा जनाएको छ ।

‘अस्वस्थताका कारण सक्रिय सङ्गठनात्मक जीवनबाट विश्राम लिनुअघि उहाँ नेकपा (एमाले) स्थायी कमिटीको सदस्य र पार्टी प्रवक्ता हुनुहुन्थ्यो, उहाँले लामो समयसम्म पार्टीको प्रचार विभाग प्रमुख एवं पार्टीको मुख पत्र नवयुगको प्रधान सम्पादकका रूपमा कुशल भूमिका खेल्नुभएको थियो’, पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

युवा पुस्तामाझ लोकप्रिय प्रदीप नेपाल धेरै कार्यकर्ताका निम्ति ऊर्जा र प्रेरणाको स्रोत भएको एमालेले जनाएको छ । उहाँले तत्कालीन नेकपा (माले) लाई शान्तिपूर्ण, लोकतान्त्रिक र लोकप्रिय धारको अगुवाका रूपमा स्थापित गर्न र जनताको बहुदलीय जनवादको विकास र कार्यान्वयनमा महत्त्वपूर्ण योगदान गर्नुभएको उल्लेख गरिएको छ ।

सिर्जनात्मकता, अथक क्रियाशीलता र ऊर्जा प्रदीप नेपालको व्यक्तित्वका महत्त्वपूर्ण विशेषता भएको एमालले जनाएको छ । मदन–आश्रित स्मृति प्रतिष्ठानका अध्यक्षका रूपमा उहाँले जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितका विचार र आदर्शलाई स्थापित गर्न र प्राविधिक शिक्षाको विकास गर्न समेत उल्लेखनीय भूमिका खेल्नुभएको जनाइएको छ ।

पटक पटक संसद् सदस्यका रूपमा जनप्रतिनिधिको भूमिकामा रहनुभएका प्रदीप नेपालले सूचना तथा सञ्चार, शिक्षा, जलस्रोत लगायत विभिन्न मन्त्रालयको समेत कुशल नेतृत्व गर्नुभएको थियो ।

सञ्जय थापाको नाममा सिर्जनात्मक लेखनमा संलग्न उहाँ नेपालको प्रगतिवादी साहित्यिक आन्दोलनका अत्यन्त लोकप्रिय र प्रेरणादायी स्रष्टा हुनुहुन्थ्यो । उहाँका दर्जनौँ उपन्यास, कथा र अन्य विधाका सिर्जनाहरूले समाजमा अग्रगामी चेतनाको निर्माणमा उल्लेखनीय योगदान दिएका छन् ।

प्रदीप नेपालको निधन नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र साहित्यिक क्षेत्रका लागि अपूरणीय क्षति भएको एमालेले जनाएको छ । ‘उहाँका असल गुण, योगदान र आदर्शबाट निरन्तर प्रेरणा लिइरहने सङ्कल्पका साथ पार्टी पुनः एक पटक उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ’, पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।