काठमाडौं, ३० वैशाख । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र आर्थिक सुधारलाई सरकारले उच्च महत्त्वका साथ अघि बढाइरहेको बताउनुभएको छ ।
आउँदो आर्थिक वर्षको बजेटबारे विकास साझेदारसँग अर्थ मन्त्रालयमा आज भएको छलफलमा उहाँले आर्थिक सुधारको प्रक्रिया थालिसकेको र त्यसलाई भविष्यमा अझ प्रभावकारी रूपमा अघि बढाउने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले आउँदो बजेट विशेषगरी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनेतर्फ केन्द्रित हुने जानकारी दिनुभयो ।
स्रोत सुनिश्चिताको हिसाबले सुविधाजनक अवस्था नरहेको उल्लेख गर्दै उहाँले बजेट निर्माण गर्दा वैदेशिक सहायतालाई नेपालको आवश्यकता र प्राथमिकतामा केन्द्रित गरेर मितव्यितता, खर्च कटौती र सीमित साधन स्रोतलाई अत्याधिक प्रतिफल हुने गरी विनियोजन गर्नेमा ध्यान दिने बताउनुभयो ।
छलफलमा भारत, चीन, अमेरिका, बेलायत, जापान, कोरिया, अस्ट्रेलिया, नर्वे, जर्मनी, फिनल्यान्ड, युरोपेली सङ्घ, विश्व बैंक, एशियाली विकास बैंक, संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व स्वास्थ्य सङ्गठनलगायत विकास साझेदार सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्