जनता टाइम्स

३१ बैशाख २०८२, बुधबार ०७:०४

जमिन भासिएर गाडी हराएको विषयमा प्रारम्भिक अध्ययनको प्रतिवेदन भन्यो यस्तो


काठमाडौं, ३१ वैशाख ।  हेटौँडा उपमहानगरपालिका–१६ गैरीगाउँमा जमिन भासिएर गाडी हराएको विषयमा खानी तथा भूगर्भ विभागको टोलीद्वारा गरिएको प्रारम्भिक अध्ययनको प्रतिवेदन आएको छ ।

घटनाको प्रमुख कारण जमिनमुनिको सिल्ट मिश्रित पानीको निष्कासन रहेको देखिएको छ । हाल भासिएको स्थानमा पाँच वर्ष अघि खनिएको बोरिङ रहको र बोरिङबाट लामो समयसम्म सिल्ट मिश्रित धमिलो पानी निरन्तर निष्कासित हुँदै आएको देखिएको छ ।

भूगर्भविद्हरूका अनुसार यही प्रक्रियाले जमिनभित्र स–साना भ्वाङहरू बनाउँदै गएको र अन्ततः जमिनमाथि निरन्तर भार रहँदा त्यो भासिएर ठूलो खाडलमा परिणत भएको पाइएको छ ।

भूगर्वविद्हरुको अध्ययन नतिजा अनुसार सिन्कहोलको केन्द्रदेखि भासिएको सडकको पूर्वी भागमा ४/२ मिटरको क्षेत्रफलमा उच्च चुम्बकीय असामान्यता देखाएको छ । यो संकेत भासिएको गाडीको सम्भावित स्थानसँग मिल्दोजुल्दो देखिएको भूगर्भविद्हरूले बताएका छन् ।

अनुसन्धानका क्रममा भूगर्वविद्को टोलिले ८ मिटर गहिराइसम्म फलामे ड्रिलिङ रड धसाएका थिए । भासिएको पुरानो सडकको सतहबाट २ मिटर मुनि रहेको स्थानबाट फलामे ड्रिलिङ रड धसाउँदा ६ मिटर गहिराइमा अबरोध आएपछि सोही गहिराइमा सवारीसाधन भएको अनुमान गरिएको छ ।

घटनास्थल र आसपासका क्षेत्रबाट संकलन गरिएको माटोको नमूना परिक्षण नतिजा अनुसार अध्ययनले जमिनको अवस्था कमजोर देखिएको छ । सिन्क होल बनेको स्थानको माटोको परिक्षणबाट सिल्ट मिसिएको क्ले ५ मिटर गहिरासम्म र त्यसमुनि सिल्ट मिसिएको मसिनो वालुवाको तह रहेको पुष्टि भएको छ । साथै जमिनको सतहभन्दा करिब ५.५ मिटरमुनि भूमिगत जल सतह रहेको देखिएको छ ।

विशेषज्ञहरूका अनुसार जमिन भासिएको स्थानभित्र रहेको माटोको संरचना खुकुलो र कमजोर भएकाले थप अध्ययन विना एक्स्काभेटर वा क्रेन प्रयोग गरेर गाडी निकाल्न जोखिमपूर्ण हुने बताइएको छ ।

भूमिगत जल सतह नजिक भएको र जमिनको भारवहन क्षमता कमजोर रहेकाले विस्तृत इन्जिनियरिङ योजना, थप अध्ययन, तथा विशेषज्ञको निगरानीमा मात्र उत्खनन् गर्नुपर्ने सुझाव भूगर्वविद्को छ ।

घटनास्थल तथा गैरीगाउँ क्षेत्र भएर बग्ने कर्रा खोला आसपास कुनैपनि पूर्वाधार निर्माण गर्दा विस्तृत भौगर्भिक अध्ययन गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । अध्ययनको क्रममा भूगर्भीय नक्सा, उपग्रह तस्बिर, र प्रोटोन म्याग्नेटोमिटर लगायत प्रविधिको प्रयोगमार्फत अध्ययन गरिएको थियो ।

वैशाख १९ गते जमिन भासिएर ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी हराएपछि हेटौंडा उपमहानगरको आग्रहमा भासिएको क्षेत्रको अध्ययनका लागि विभागका जियोलोजिष्ट डा। नारायण अधिकारीको नेतृत्वमा कृष्ण पाण्डे, मणी खनाल र अमर बहादुर थापाको टोली हेटौंडा आएर तथ्यांक तथा नमूना संकलन गरेका थिए ।

संकलित नमूनाको परीक्षण लैनचौरस्थित खानी तथा तथा भूगर्भ विभागको जियोटेक्निकल प्रयोगशालामा गरिएको थियो ।