रामेछाप । वाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले प्रदेश मन्त्रालय अन्तर्गतका रामेछाप जिल्लाका कार्यालयहरूको अनुगमन गर्नुभएको छ ।
सो मन्त्रालय अन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालय, वन कार्यालय लगायतका कार्यालयको मन्त्री सिलवालले अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा उहाँले सेवालाई प्रभावकारी बनाउन र नागरिकलाई छिटो र सहज सेवा प्रदान गर्न आग्रह गर्नुभयो । उहाँसँगै वाग्मती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठ, प्रदेश सभा सदस्य भरत केसी पनि संलग्न हुनुहुन्थ्यो ।
मन्त्री सिलवाल सहितको टोलीलाई मन्थली नगरपालिकाले स्वगत गरेको थियो । सो क्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले मन्थलीको फोहोरका डम्पिङ साइड व्यवस्थापनमा समस्या भएकोले त्यसको लागि आवश्यक वन क्षेत्रको जग्गा उपलब्ध गराउन सहजीकरण गरिदिन मन्त्री सिलवाललाई आग्रह गर्नुभयो ।
सिलवालले प्रदेश मन्त्रालयबाट हुनसक्ने सबै सहयोग आफूले गर्ने र संघीय मन्त्रालय मार्फत गर्नुपर्ने काम भए पनि आफैँ अघि लागेर सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । छलफलमा नगरप्रमुख श्रेष्ठले नगरपालिकाले गरिरहेका काम बारे जानकारी गराउँदै नयाँ गर्नुपर्ने कामका बारेमा समेत सुझाव माग्नु भएको थियो ।
कार्यक्रममा वाग्मती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठले राज्यका सबै निकायले सिष्टममा काम गर्नुपर्ने बताउनुभयो । योजना सहित सिष्टममा काम गर्दा आवश्यकताको आधारमा काम हुने र आलोचना कम हुने धारणा उहाँले राख्नुभयो ।
दोलखाबाट निर्वाचित वाग्मती प्रदेश सभा सदस्य भरत केसीले विकासका काम गर्दा दिगो सोच राखेर गर्नुपर्ने सुझाव दिनुभयो । दिगो सोचका साथ काम गर्दा सुरुमा केही आलोचना हुने भए पनि दीर्घकालीन रूपमा त्यसले सबैको हित गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्