जनता टाइम्स

१ जेष्ठ २०८२, बिहीबार १२:५४

राष्ट्र बैङ्कको गभर्नरमा मेरो कुनै मान्छे ल्याउनु छैन, क्षमतावान् मान्छे आउँछ : प्रधानमन्त्री


काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको गभर्नर योग्यताको आधारमा नै नियुक्त हुने बताउनुभयो ।

कसैसँगको व्यक्तिगत निकटताका आधारमा नभई योग्यता क्रमका आधारमा क्षमतावान् व्यक्ति नै गभर्नर नियुक्त हुने उहाँले स्पष्ट पार्नुभयो । पूर्व योजनाकार मञ्च नेपालको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्र बैङ्कको गभर्नरमा आफ्नो कुनै मान्छे ल्याउनु नपरेको बताउनुभयो । ‘राष्ट्र बैकमा मेरो कोही ल्याउनु छैन, मेरिटोक्रेसीका आधारमा क्षमतावान् मान्छे ल्याउने हो’, उहाँले भन्नुभयो ।

अहिले देशलाई आफ्नो मान्छे भन्दा पनि काम गर्न सक्ने मान्छे चाहिएको ओलीले बताउनुभयो । ‘मेरो मान्छे भन्ने चाहिँदैन, म प्रधानमन्त्री हो तर सरकारका म मात्र छैन, त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्त्व दिन्छु’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको स्पष्ट गर्नुभयो । एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरू पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको उहाँले स्पष्ट पार्नुभयो ।