रामेछाप, ३ जेठ । नेकपा एमाले रामेछापले ३२ औँ मदन–आश्रित स्मृति दिवस शनिबार उहाँहरू प्रति श्रद्धा प्रकट गर्दै मनाएको छ ।
सदरमुकाम मन्थलीको मदन–आश्रित स्मृति पार्कमा एमाले रामेछापले श्रद्धाञ्जली सभा आयोजना गरेको हो । मदन–आश्रित चोकमा रहेको स्वर्गीय नेताहरू मदन भण्डारी र जीवराज आश्रितको सालिकमा माल्यार्पण गरी स्मृति दिवस बनाइएको नेकपा एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं वाग्मती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ र एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले नेपालको कम्युनिष्ट आन्दोलन र नेकपा एमालेको निर्माण र विकासमा उहाँहरूको योगदान बारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, प्रदेश कमिटी सदस्य गङ्गा कार्की, हर्कमाया माझी, पार्टी जिल्ला कमिटी उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाश कुमार कार्की, उप–सचिव मिलनकुमार घिसिङ, जिल्ला कमिटी सदस्यहरू, पालिका कमिटीका नेताहरू, जनसंगठनका नेताहरू लगायतको सहभागिता रहेको थियो ।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको थियो । सो घटनाको सत्य तथ्य अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्