जनकपुर, ३ जेठ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रम्दैयास्थित वान्डरल्याण्ड (वाटर पार्क)मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
शनिबार जनकपुरधामस्थित कृष्णा फाउन्डेसनले कक्षा १२ दिएका विद्यार्थीहरुका लागि भनेर मात्र एकसय रुपैयाँ शुल्क लाग्नेगरी कार्यक्रम आयोजना गरेको थियो ।
वाटर पार्कको क्षमताभन्दा बढी विद्यार्थीको उपस्थित भएपछि पार्क व्यस्थापन र विद्यार्थीहरु बीच तनाव उत्पन्न भएको थियो । यस क्रममा झडपसँगै तोडफोड हुँदा लाखौंको क्षति भएको वाटर पार्कका व्यवस्थापक अभिषेक गोइन्काले जानकारी दिएका छन् ।
कृष्णा फाउन्डेसनसँग सातसयदेखि नौ सयजना विद्यार्थी मात्र आउने भनी सहमति भएकोमा दुई हजार भन्दा बढी विद्यार्थी प्रवेश गर्न खोजेपछि झडप हुन पुगेको उनले बताए ।
आक्रोसित विद्यार्थीहरुले पार्कको मूल गेट, सिसिटिभी, सिसा, रुख विरुवा, गमला, टेन्ट, फलामको गेट, सामान राख्ने कोठा, कुर्सी, फलामलगायतमा तोडफोड गरेको उनले बताए ।
विद्यार्थीले सडकमा चल्ने दुई वटा हाइसमा समेत तोडफोड गरेको जिल्ला प्रहरी धनुषाले जनाएको छ । विद्यार्थीहरु उग्र भएपछि अवस्थामा नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको छ ।
झडपमा पाँच जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । तोडफोडमा उत्रिएका १० जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अहिले व्यापक मात्रामा प्रहरी तैनाथ रहेका छन् । अवस्था सामान्य भएपछि कुल क्षतिको अनुमान गर्ने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्