काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी जेठको तेस्रो सातादेखि जनयात्रा सुरू गर्ने तयारी गरेको छ। गत चैत २३ गते चितवनमा जनयात्राको उद्घाटन गरे पनि त्यहाँबाट अघि बढ्न सकेको छैन।
आगामी जेठको १८ देखि २० गतेभित्रबाट जनयात्रा सुरू गर्ने गरी तयारी भइरहेको जनयात्राका संयोजकको जिम्मेवारी पाएका रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए। यसपालि चाँडो मनसुन भित्रने संकेत मिलेको र बर्खा लाग्ने बेलामा नै अभियान सुरू गर्दा प्रभावित हुने हो कि भनेर पनि पार्टीभित्र छलफल भइरहेको उनले बताए।
‘यसबीचमा पार्टी नेता र सांसदहरू नागरिकसँग निरन्तर संवादमै हुनुहुन्छ। नागरिकको बीचमा गइ नै राख्नुभएको छ। पार्टीले घोषणा गरेको जनयात्राचाहिँ अघि नबढेको हो,’ उनले भने, ‘हामीले आगामी जेठको १८ देखि २० गतेभित्रबाट अभियान सुरू गर्दैछौं।’
रास्वपाले पूर्व, झापाबाट अभियान सुरू गर्ने तयारी गरेको छ। जनयात्राको कार्यविधि पनि पारित गरिसकेको उपनेता श्रेष्ठले जानकारी दिए। संयोजन समितिलाई पूर्णता दिइएको छ। जसमा सांसद डा. तोसिमा कार्की उपसंयोजक र सांसद निशा डाँगी प्रवक्ता तोकिएकी छन्। जनयात्राका लागि भनेर सांसद अशोकुमार चौधरी र केन्द्रीय सदस्य विजय जैरू रूपन्देहीदेखि कञ्चनपुरसम्म पुगेर फर्किएको पनि श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस्