जनता टाइम्स

४ जेष्ठ २०८२, आईतवार १३:५४

उत्पादनमा नजोडिएसम्म मुलुकको विकास सम्भव छैन : मुख्यमन्त्री चेतनारायण आचार्य


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले कृषि क्षेत्रमा संलग्न उद्यमलाई  प्रोत्साहन गर्ने बताउनुभएको छ ।

राप्ती चेम्बर अफ कमर्सको तेस्रो साधारण सभा तथा अधिवेशन एवम् स्मारिका विमोचन कार्यक्रमलाई दाङको सिसहनियाँमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कृषि क्षेत्रको विकास र उद्यमीहरूलाई प्रवर्द्धन गर्ने नीति सरकारको रहेको बताउनुभयो । ‘तपाईँहरूको भावना बुझेर भावना छुने गरी कार्यक्रम र योजना ल्याई कार्यान्वयन गर्दै छौँ, उद्यमीका निम्ति पनि उद्यमी मैत्री कार्यक्रम अघि बढाउने सोच र लक्ष्यसहित काम गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री आचार्यले व्यवसायी तथा उद्यमीहरूसँग प्रदेश सरकार सधैँ साथमा रहेको बताउनुभयो । त्यसैले उच्च मनोबलका साथ व्यवसायमा लाग्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले आधारभूत वर्गलाई उत्पादनमा नजोडेसम्म मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो । स्थानीय उत्पादन बढाउन आधारभूत वर्गको अनिवार्य सहभागिता आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो । ‘हामी उत्पादनमा नजोडिएसम्म मुलुकको विकास सम्भव छैन, गाउँको विकास पनि सम्भव छैन, यो कुरा सरकारले राम्रोसँग बुझेको छ’, आचार्यले भन्नुभयो

व्यवसायमैत्री वातावरण निर्माणमा प्रदेश सरकारले भूमिका बढाएको जानकारी दिँदै उहाँले व्यवसायको विकासका लागि बनाइएका कानुन, नीति, नियम, कार्यविधिहरू बाधक भएमा सुधार गर्न सरकार तयार रहेको जानकारी दिनुभयो । उहाँले लगानीको खोजी भइरहेको जानकारी दिँदै हल्ला, भ्रम र कुप्रचारको पछि नलाग्न पनि आग्रह गर्नुभयो ।