जनता टाइम्स

७ जेष्ठ २०८२, बुधबार १०:४६

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ उठाउँदै


काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोलि (बिहीबार)  बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ । पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको छ । आइतबार मात्रै पनि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २४ अर्ब रुपैयाँ तान्नेको थियो ।

राष्ट्र बैंकले २१ दिनका लागि बिहीबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बैंक तथा वित्तीय संस्थाहरूले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ ।

राष्ट्र बैंकका अनुसार सावाँ तथा ब्याज भुक्तानी आगामी जेठ २८  गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ ।

बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने बैंकले जनाएको छ ।