जनता टाइम्स

८ जेष्ठ २०८२, बिहीबार २१:१३

मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण


जनकपुरधाम, ८ जेठ । मधेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनलगत्तै जनमत पार्टीका नवनियुक्त मन्त्री बसन्त कुशवाहा र संजय यादवले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । मधेस भवनस्थित मुख्यमन्त्री निवासमा नवनियुक्त उद्योग वाणिज्य तथा पर्यटन मन्त्री कुशवाहा र वन तथा वातावरण मन्त्री यादवले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो । उहाँहरुलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । मन्त्री सतिशकुमार सिंहले जनमतका दुई मन्त्री हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गर्नूभएको छ । यसअघि जनमतले वन मन्त्री त्रिभुवन शाह र उद्योग मन्त्री सकील अलि मियालाई बनाएको थियो । पार्टीको नियमित प्रक्रिया अनुरुप मन्त्री हेरफेर गरेको जनमत पार्टीले जनाएको छ ।

नवनियुक्त मन्त्रीद्वयले शपथग्रहण लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । यादव सिरहाबाट निर्वाचित सांसद हुनुहुन्छ । उहाँ यसअघि कृषि राज्यमन्त्री बन्नुभएको थियो ।कुशवाहा समानुपातिक सांसद हुनुहुन्छ । उहाँ यसअघि कृषि मन्त्री भइसक्नुभएको छ ।