जनता टाइम्स

१९ जेष्ठ २०८२, सोमबार १६:३६

लाज पनि लजाउने राजावादी आन्दोलनका मुद्दा


यिनीहरूको रणनीति समस्याको समाधान होइन, अवसरको दुरुपयोग मात्रै हो ।  भड्किएका मानिसलाई केही दिन उफार्न त सकिएला तर उनीहरूलाई सधैँ साथमा लिएर हिँड्ने कुरा असहज मात्र होइन असम्भव नै छ ।

नवराज पथिक

नेपालमा पछिल्ला केही महिनादेखि नेपाली जनताले समाप्त गरेको राजसंस्थाको पुनः स्थापनाको माग गर्दै राजवादीको नाममा पूर्वपञ्चहरू, पूर्वमण्डलेहरू र सामाजिक अराजकता मच्चाउने समूहले आन्दोलनको नाममा नागरिकलाई सास्ती दिने, सरकारी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेदेखि मानिसको ज्यान लिनेसम्मको कर्म गरिरहेका छन् ।

राजावादी आन्दोलनको नाममा अराजक र भ्रमपूर्ण प्रदर्शन र प्रचार गरी मण्डलेहरूले नेपाली समाजलाई भ्रमित गर्ने काम गरिरहेका छन् । राजतन्त्रको ज्याजति नभोगेका, राजतन्त्रको अन्त्य पछि जन्मिएका युवा पुस्तालाई यो भन्दा राजतन्त्र नै ठिक, गणतन्त्रले केही दिएन, राजतन्त्रको युग स्वर्णिम युग थियो भन्नेसम्मका भ्रम फिँजाएर पञ्चायतको नाममा हिजो राजाको वरिपरि घुमेर देश बरबाद गर्नेहरूले नेपाली युवालाई भ्रमित गर्ने प्रयत्न गरिरहेका छन् ।

सामाजिक अराजकतामा टेकेर युवालाई थप निराश बनाइ त्यसैको आडमा आफ्नो स्वार्थ पुरा गर्ने रणनीति राजावादी मण्डलेहरूले बनाएका छन् । सामाजिक अराजकतालाई प्रयोग गर्दै पुरानै सत्ता संरचना पुनः स्थापित गर्ने सकिन्छ कि भनेर उनीहरू प्रयास गर्दैछन् । यो व्यवस्था भन्दा राजा ठिकै पो हुन् क्यारे ! राजतन्त्र राम्रै पो हुन्छ क्यारे ! अहिलेको व्यवस्थाले भन्दा राजतन्त्रले राम्रो गर्छ क्यारे ! गणतन्त्रवादी भन्दा राजवादी नै पो ठिक छन् कि के हो ! भन्ने लाग्ने राजतन्त्रको समयको पीडा नबुझेका युवा पुस्तालाई राजावादी अराजक मण्डलेहरूले एकै दिन गत चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन गरी देखाएको अराजक प्रदर्शनले आफ्नो असली रूप देखाइदिए ।  यसले राजा र राजावादी प्रतिको भ्रम र मोह तोड्न निक्कै काम गरेको छ ।

आफ्नो पक्षमा कोही मान्छे नपाएर पूर्वराजा ज्ञानेन्द्रले बैङ्कहरू ठगेर बैङ्कको ऋण तिर्नु पर्दैन भन्ने मानिसहरूलाई उकासेर हिँड्ने अत्यन्त अराजक दुर्गा प्रसाईँलाई आन्दोलनको कमाण्डर बनाए । कमाण्डर नै गलत भएपछि, कमाण्डर तोक्नेको नियत नै खराब भएपछि आन्दोलन कस्तो हुन्छ ? तीनकुने आन्दोलन त्यस्तै भयो ।

तीनकुने घटना मानवता विरुद्धको अपराध 

राजा फर्काउने भन्दै पोखरा गएका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न केही राजावादी मण्डलेहरूले भिड देखाउने योजना बनाए । त्यही योजना अनुसार मण्डलेहरू जम्मा भए । राजाको पालामा खाएका, पाएकाहरू भेला भए ।

काठमाडौंमा चल्ने पठाओहरुलाई पैसा दिइयो, र्‍यालीमा आउने मोटरसाइकललाई तेल हालियो, कतिलाई लोभमा पारियो, कतिलाई भ्रममा पारियो, कतिपयलाई लहैलहैमा जम्मा गरियो । जे होस् भिड जम्मा गरियो ।

भिडले राजा फर्किए भन्दै पूर्वराजालाई स्वागत गर्‍यो, काठमाडौंको सडकमा दोडायो । भिड देखेर हौसिएका ज्ञानेन्द्रले सत्तामा फर्कने सपना देखे । चैत १५ गते काठमाडौंमा आन्दोलन गर्न दुर्गा प्रसाईँ जस्ता अराजक मान्छेको सहारा लिन पुगे । पूर्वपञ्चहरू नवराज सुवेदीदेखि पूर्वमण्डले कमल थापासम्म सल्लाहकार छँदै थिए । २०८१ चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा गरिएको राजावादी प्रदर्शन सुनियोजित थियो, मण्डले चरित्रको थियो । त्यसैले त्यहाँ मण्डलेहरूले आफ्नो चरित्र देखाए । त्यसैले आन्दोलन हिंसात्मक बन्यो ।

अराजक प्रदर्शनकारीहरूले निजी र सरकारी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट मच्चाए ।  कार्यक्रमको फोटो खिच्न गएका पत्रकारलाई घर भित्र थुनेर ज्युँदै आगो लगाएर जलाए । भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा अर्का एकको ज्यान गयो  । आन्दोलनका कमाण्डर दुर्गा प्रसाईँले हान्न, ठोक्न र अघि बढ्न सबैलाई उक्साए । त्यसैको परिणाम अहिले थुनामा पश्चात्ताप गर्दै छन् वा फेरी पनि भड्किने र भड्काउने योजना बन्दै छन् । जे होस् अहिले थुनामा छन् । सो घटनाले आन्दोलनको नाममा हिंसा भड्काउने र देशमा अशान्ति मच्चाउने उनीहरूको योजना पुष्टि गर्‍यो ।

कुनै राजनीतिक इतिहास नभएको, बैङ्क ठग्ने र विवादास्पद अभिव्यक्ति दिने चरम दक्षिणपन्थी उग्र भड्काव भएका व्यक्तिलाई आन्दोलनको कमाण्डर बनाउनुले पूर्वराजाको नियत प्रष्ट हुन्छ । तीनकुनेको घटनामा प्रसाईँ स्वयंले गाडी चलाएर प्रहरीको घोरा तोड्न खोज्नु, प्रदर्शनलाई हिंसात्मक बनाउनु, र त्यसपछि फरार हुनुले राजा र राजावादीको नियतलाई त्यतिखेरै प्रष्ट पारेको हो । यसमा नेपाललाई कमजोर बनाउने र आफ्नो अनुकूल प्रयोग गर्ने भारतको नियतले पनि त्यतिकै काम गरेको छ ।

तिनै राजावादी झुण्डले जेठ १५ गते गणतन्त्र आएको दिन पूर्वराजा ज्ञानेन्द्रलाई नारायणहिटीको सिंहासनमा राख्ने भ्रम फिँजाए । जेठ १५ गते अलिकति मान्छे पनि जम्मा गरे । प्रदर्शन गरे । त्यस पछि मानिसहरू कम हुँदै गए । जेठ १८ गते बालुवाटार घेर्न हिँडेका कमलथापा लगायतका मण्डलेहरू पक्राउ परे । उनीहरू पक्राउ परेपछि एकाथरिले उपत्यका बन्द गर्ने घोषणा गरे अर्काथरिले नेपाल नै बन्द गरिदिने चेतावनी दिए । जेठ १९ गते आन्दोलनको आगो बाल्ने भनेका पूर्वराजाका मण्डलेहरूले आन्दोलन नै निकाल्न सकेनन् । सकारेले काठमाडौंका तीन ठाउँ बाहेक आन्दोलन गर्न नदिने भनेपछि न त उनीहरू तोकिएको ठाउँमा जम्मा हुन जान सके न निषेधाज्ञा तोड्न सके । उनीहरू आफै अन्योलमा परे

भारतको भूमिकामाथि उठेका प्रश्नहरू 

नेपालको आन्तरिक राजनीतिमा भारले सधैँ हस्तक्षेप गर्न चाहन्छ । जब एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनुहुन्छ, ओलीले भारतको हस्तक्षेप मन पराउनुहुन्न । भारतीय विस्तारवादी चरित्रको प्रतिवाद गर्नुहुन्छ । त्यो नेपालको वर्तमान संविधान बनाउने बेलामा होस् वा नेपालको चुच्चे नक्सा जारी गर्ने बेलामा होस् । यो कुरा भारतले राम्रैसँग बुझेको छ । त्यसैले केपी ओलीलाई कमजोर बनाउने र नेपालमा खेल्ने भारतीय खेलको कारणले पनि राजावादीको आन्दोलनमा भारतीय शक्ति जोडिएको छ ।

विशेष गरी राजसंस्था सम्बन्धी आन्दोलनमा भारतको चासो अझ बढी छ । आफू गणतन्त्रमा गएको लामो समय भइसकेको भारत नेपालमा भने राजसंस्था रहिरहोस् भन्न चाहन्छ । नेपाली जनतालाई राजाहरूले चुसिरहने भन्ने ठान्छ ।

हिन्दुत्ववादी भारतीय मिडिया, संस्था, राजनीतिक दल र नेताहरूले नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा खुला समर्थन जनाउँदै आएका छन् । राजावादीको आन्दोलनमा भारतका नेताको फोटोले पनि त्यसलाई खुल्ला रूपमा पुष्टि गर्छ । त्यसैले उनीहरूले पूर्व राजा र राजावादीहरूलाई उकासी रहेका छन् ।

कतिपयले त नेपालमा राजावादीको आन्दोलन चलाउनको लागि भारतले खर्च गरिरहेको छ भन्ने सम्मका विश्लेषण गर्छन् । यस्ता कार्यले राजावादी आन्दोलनप्रति जनताको विश्वासलाई  थप कमजोर बनाएको छ । त्यसैले राजावादीहरूको आन्दोलन कमजोर बन्दै गएको छ ।

मण्डले प्रवृत्तिको पुनरागमन

राजावादी आन्दोलनमा नेतृत्व लिने अनुहारहरू प्रायः पञ्चायती कालका मण्डलेहरू नै छन् । पञ्चायत भरी शासन सत्तामा रहेर देश लुट्ने रामेछापका नवराज सुवेदी अहिले आन्दोलनको संयोजक बनेका छन् । यो आन्दोलनका बाहिर देखिने र भित्री पात्रहरू नागरिक स्वतन्त्रता, बहुदल र मानव अधिकारविरुद्ध दमनकारी भूमिका खेलेका कुख्यात पात्र नै छन् । राष्ट्रवाद र हिन्दुत्वको नाममा समाजमा द्वन्द्व र भ्रम फैलाउने  यस्ता शक्तिबाट न देशले सुख पाउँछ, न जनताले नै सुख पाउँछन् । राष्ट्रवाद र हिन्दुत्व यिनीहरूको देखाउने दाँत हो । यिनीहरूका देश खाने र लुट्ने दाँत त भित्र लुकेका छन् ।

पञ्चायतकलाका प्रमुख प्रचारक,  दुर्नाम व्यक्ति नवराज सुवेदी अहिले संयुक्त जनआन्दोलन समितिका संयोजकका रूपमा देखा पर्नुले पनि यो मण्डलेहरूको पुनरागमनको प्रयास हो, मरिसकेको राजतन्त्रले टाउको उठाउने सपना देखेको हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । यस्तो नेतृत्वबाट लोकतान्त्रिक जनताले आशा राख्ने कुनै ठाउँ छैन । उनको उपस्थिति मात्रैले पनि देशलाई पुरानो बाटोमा फर्काउने षडयन्त्रको पर्दाफास हुन्छ ।

सामाजिक अराजकतामा टेकेर अघि बढ्ने असफल रणनीति 

अहिले नेपालमा सामाजिक अराजकता निक्कै बढेको छ । लोकप्रियतावादको नाममा समाज भड्काउनेहरूले यस्तो काम गरिरहेका छन् । राजावादीहरू समाजमा असन्तुष्टि, बेरोजगारी, महँगी, र भ्रष्टाचारको भावनालाई उपयोग गरेर समर्थन बटुल्ने प्रयासमा छन् । तर यिनीहरूको रणनीति समस्याको समाधान होइन, अवसरको दुरुपयोग मात्रै हो ।  भड्किएका मानिसलाई केही दिन उफार्न त सकिएला तर उनीहरूलाई सधैँ साथमा लिएर हिँड्ने कुरा असहज मात्र होइन असम्भव नै छ ।

सस्तो लोकप्रियताले केही दिन त काम गर्ला तर कालान्तरमा त्यो आफैँ माथि खनिने निश्चित छ । त्यसैले राजवादीहरू सामाजिक अराजकतालाई बढाउने प्रयत्न गरेर आफैँ आफ्नो टाउकोमा भुङ्ग्रो खन्याउने प्रयत्न गर्दै छन् । त्यो भुङ्ग्रोले उनीहरूलाई भष्म बनाउने छ ।

आन्दोलनभित्रको मतभेद र नेतृत्वको अन्योल

राजावादी आन्दोलनभित्रै केही दिनको बिचमा मतभेद सिर्जना भइसकेको छ । यो पनि मण्डले चरित्र नै हो ।  नेतृत्वको विषयमा पछिल्लो समय विवाद र अन्योल देखिएको छ । थुनामा रहेका दुर्गा प्रसाईँले आफ्ना समर्थकहरूलाई राप्रपाको आन्दोलनमा नजान निर्देशन दिएका छन् ।

राजावादीहरूको राप्रपा भित्र पनि समस्या त्यतिकै छ । राप्रपाका राजेन्द्र लिङ्देन र राप्रपा नेपालका कमल थापाको बिचमा नै त्यस्तै विवाद  छ । उनीहरूको बिचमा नवराज सुवेदीलाई मान्ने कि नमान्ने भन्ने अन्यौलता छ । आन्दोलनकै पक्षधर एउटा नेपाल बन्द भन्छ, अर्को काठमाडौं उपत्यका बन्द भन्छ । फेरि अर्को कतै पनि बन्द नगर भन्छ ।

यसरी हेर्दा पूर्वपञ्च र मण्डलेहरूको यो आन्दोलनको न कुनै योजना छ, न कुनै लक्ष छ, न कुने दृष्टिकोण छ, न नेता छ, न नेतृत्व छ । यसको प्रष्ट अर्थ के हो भने उनीहरू आफैँलाई यो देशमा राजतन्त्र फर्कँदैन भन्ने कुरामा प्रष्ट छ । त्यसैले समाजलाई भड्काइ रहने, अस्थिरता पैदा गरिरहने र विदेशी शक्ति खास गरी भारतलाई नेपालमा खेल्न दिने योजना अनुसार उनीहरू परिचालित भएका छ ।

राजसंस्था पुनः स्थापनाको माग गर्दै गरिएको आन्दोलन अहिले अन्यौलता, हिंसा र आन्तरिक द्वन्द्वको भुमरीमा फसेको छ । तीनकुनेको हिंसाले यसको सार्वजनिक छवि धमिल्याएको छ । भारतसँग जोडिएका सन्देहले यसको निष्ठा कमजोर भएको छ । मण्डले प्रवृत्तिको पुनरागमनले जनतामा भय पैदा गरेको छ । नेतृत्वको अस्थिरता र विवादले आन्दोलनको विश्वसनीयता हराउँदै गएको छ । यस्तो अवस्थामा यो आन्दोलनले सामाजिक अराजकताको जगमा टेकेर लामो यात्रा पार गर्न सक्दै भन्ने कुरा निश्चित छ ।

नेपाली जनता कतिपय राजनीतिक दलका नेताहरूको व्यवहारबाट पक्कै असन्तुष्ट भएका होलान् । कतिपय राजनीतिक दलको कारण पनि असन्तुष्ट होलान् । तर अहिलेको असन्तुष्टि लोकतन्त्र प्रतिको असन्तुष्टि होइन, गणतन्त्र प्रतिको असन्तुष्टि हुँदै होइन । लोकतन्त्रको विकल्प राजतन्त्र नेपाली जनताले खोजेका हुँदै होइनन् । नेपाली जनता उज्यालोबाट अँध्यारो तर्फ फर्कन चाहेका छँदैछैनन् ।

राजसंस्थाको नाममा सुरु भएको यो आन्दोलन लोकतान्त्रिक संरचनामाथिको  सीधा हमला हो ।  संसद्, संविधान, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षता-यी सबै ध्वस्त पार्ने सुनियोजित षडयन्त्र हो । राजतन्त्रवादी बाँदरहरू घर बनाउन आएका होइनन् भत्काउन आएका हुन् ।

राजावादी सलबलाउनुको कारण 

खासमा राजावादीहरू किन सलबलाइ रहेका छन् । यसको पनि विश्लेषण गर्न जरुरी छ । यसको मुख्य कारण भनेका राजनीतिक अस्थिरता र सामाजिक अराजकता नै हो ।नेपालमा लोकतान्त्रिक शासन प्रणाली स्थापना भएको दशकौँ बितिसकेको भए पनि राजनीतिक स्थायित्व अझै सुनिश्चित हुन सकेको छैन । बारम्बारको सरकार परिवर्तन, दलहरूबिचको सत्ता संघर्ष, भ्रष्टाचार, अनियमितता, जनअपेक्षाको उपेक्षा-यी सबै कारणले जनतामा निराशा बढेको छ । यही निराशाको जगमा टेकेर राजावादीहरू अगाडि बढ्ने प्रयत्न गर्दै छन् ।

राजावादीले राष्ट्र, धर्म, संस्कृति जस्ता संवेदनशील विषय प्रयोग गरेर जनभावनामा खेल्ने प्रयास गरेका छन् । हिन्दु राष्ट्र र राजसंस्थाको कुरा गरेर धार्मिक भावनालाई राजनीतिक अस्त्र बनाएका छन् । जसले धेरै जनतालाई भ्रमित पार्न सकिन्छ भन्ने उनीहरूको योजना छ ।

वास्तवमा उनीहरू न राष्ट्रवादी हुन्, न धर्म, संस्कृतिका रक्षक हुन् । उनीहरू केवल मण्डले हुन् । मण्डलेको चरित्र अरूलाई लडाएर आफूले लाभ लिने हुन्छ । अहिले नेपाली जनतालाई लडाएर फेरी राजतन्त्रको नाममा देश लुट्न पाइन्छ कि भनेर मण्डलेहरू सलबलाई रहेका छन् ।

अहिले केही सामाजिक असमानता पनि छ । शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका क्षेत्रमा असमानता छ । सङ्घीयता कार्यान्वयन भए पनि स्थानीय तहमा सेवा प्रवाह अझै प्रभावकारिता छैन । सुशासनमा समस्या छ ।

राजनीतिक दलले सच्चिनु पर्ने ठाउँ 

कतिपय राजनीतिक दलहरू भित्र विचार, नीति र दृष्टिकोणमा समस्या देखिएको छ । शक्ति प्राप्ति र संरक्षणमा राजनीतिक दल देखिएका छन् । २० सिट होस् कि ३२ सिट होस्, सरकारमा नै जानु पर्ने, अझ सरकारकै नेतृत्व गर्नुपर्ने तीव्र सत्ता मोहको महत्त्वाकाङ्क्षा बढेको छ । यसले यो भन्दा त राजै ठिक भन्ने भ्रम फिँजाउनेलाई मसलाको काम गरेको छ ।

यति हुँदा हुँदै पनि राजसंस्था वा पञ्चायती व्यवस्थाको पुनरागमन नेपालका लागि अग्रगमन हुँदै होइन । यो कुरा नेपाली जनतालाई बुझाउन आवश्यक छ । राजसंस्था कहिल्यै पनि जनअधिकारको साधक बनेन, त्यो सधैँ बाधक बन्यो ।

राजसंस्था जसको जनताप्रति जबाफदेहिता छैन, जसलाई जनताले निर्वाचित गर्दैन । जसले इतिहासमा निरङ्कुश शासनको अभ्यास गर्‍यो, त्यसको पुनरागमन लोकतन्त्रका लागि गम्भीर चुनौती हो ।

लोकतान्त्रिक शासनलाई जनउत्तरदायी बनाउनु बनाउँदै भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा पारदर्शिता, नीति निर्माणमा जनसहभागिता, र नेतृत्वको नैतिक जिम्मेवारी सुनिश्चित गर्दै अहिलेको व्यवस्थालाई अझ सबल बनाउन सबै लाग्न आवश्यक छ । राजनीतिमा नयाँ पुस्ताको प्रवेश र नेतृत्व विकास गर्नु जरुरी छ । राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र सुदृढ गर्दै युवापुस्तालाई नेतृत्वमा अघि अघि बढाउन जरुरी छ । विचारमा आधारित राजनीति पुनः स्थापनाको खाँचो देखिएको छ ।

पत्रकारको भूमिमका

राजावादी आन्दोलनले यति बेला सामाजिक सञ्जालको माध्यमबाट जनमत सिर्जना गर्ने प्रयास गरिरहेको छ । भ्रम, मिथ्या प्रचार र भावनात्मक सन्देशले जनतालाई भ्रमित पारिरहेका छ । यस्ता भ्रम चिर्नका लागि तथ्यमा आधारित सूचना प्रवाह, जनचेतनामूलक कार्यक्रम उत्तरदायित्वमा आधारित भएर पत्रकारिता गर्न आवश्यक छ ।

लोकतन्त्रको विकल्प राजतन्त्र हुने कुरा सम्भव नै छैन । लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र हो । नेपालका वर्तमान समस्या र जनताको असन्तुष्टिको सम्बोधन लोकतन्त्रले मात्र गर्न सक्छ  । यसका लागि राजनीतिक दलहरूले जनअपेक्षा बुझ्ने, जबाफदेही बन्ने र विचार आधारित राजनीति पुनर्स्थापित गर्ने कुरामा जोड दिन आवश्यक छ ।

हिजो जसले देश लुटेका थिए, नेपालाई अन्धकारमा राखेका थिए, जनतालाई कङ्गाल बनाएका थिए, नागरिक स्वतन्त्रता खोसेका थिए, प्रेस बन्द गराएका थिए, आज उनै प्रेस स्वतन्त्रताको कुरा गर्दै छन्, जसले नागरिक अधिकार खारेज गरेका थिए आज उनीहरू नै नागरिक अधिकारका कुरा गर्दै छन्, उनीहरू अहिले पनि नेपाली जनतालाई भ्रमित पार्न किन्छ कि भन्ने प्रयत्न गर्दै छन् । त्यसैले उनीहरूको भ्रम जालमा पर्ने होइन यही व्यवस्थालाई सुदृढ बनाएर लैजाने कुरामा सबैले सहयोग र सहकार्य गर्न आवश्यक छ ।

टोक्नु न बोक्नु

राजावादीलाई आफूहरूले सुरु गरेको आन्दोलन यतिबेला टोक्नु न बोक्नुकाे भएको छ । राजावादीको आन्दोलन न उठ्ने अवस्था छ, न बिसाउन नै सकेका छन् । आज आगो बाल्ने भनेर हिजो घोषणा गरेको आन्दोलन आज पूर्वराजा वीरेन्द्रको वंश नाशको दिन भएकोले स्थगित भएको भन्दै रोकिएको छ ।

हिजो घोषणा गरेको कुरा आज कार्यान्वयन गर्न सक्दैनन् राजावादी भन्नेहरू । हिजो एउटा घोषणा गरे, आज आन्दोलनमा मान्छे नजुट्ने भएपछि अर्को निर्णय गरे । यसले उनीहरू एक पाइला अगाडि पनि सोच्दैनन् भन्ने पुष्टि हुन्छ । त्यसैले यस्तो उद्देश्य र गन्तव्यहीन आन्दोलन टुङ्गाेमा पुग्ने कुनै सम्भावना छैन । राजावादीहरूले आन्दोलनको नाममा फैलाइरहेको यो अराजकतालाई तत्काल बिसाएर थप आलोचित हुन र जनताको निशाना बन्नबाट जोगिएकै जाति हुन्छ ।