भक्तपुर, २२ जेठ । सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सबै पार्टी र नेताहरू एकै हुन् भन्ने गलत भाष्य निर्माण गर्न नहुने बताउनुभएको छ ।
नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले बिहीबारबाट भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै गुरुङले नेकपा एमाले अन्य पार्टी र एमालेका नेताहरू अन्य पार्टीका नेता भन्दा फरक भएका बताउनुभयो । एमाले विचार र दृष्टिकोणमा सबैभन्दा अब्बल पार्टी भएको उहाँले दाबी गर्नुभयो ।
एमाले नेपालमा सबैभन्दा उत्कृष्ट विचार र दृष्टिकोण भएको पार्टी भएको उहाँको दाबी छ । यति हुँदाहुँदै पनि पार्टी भित्र देखिएको साङ्गठनिक अराजकता र दक्षिणपन्थी अवसरवादका कारण एमाले कमजोर बन्दै गएको उहाँको धारणा । पार्टी भित्र कम्युनिष्ट पार्टीका पाँच प्रमुख सिद्धान्त कमजोर हुँदा अराजकता र अवसरवाद मौलाउँदै गएको उहाँले बताउनुभयो । ‘त्यसैले हाम्रो कार्यशैली र आचरणमा सुधार हुन आवश्यक छ, जहाँ कमजोरी र अनुशासन हीनता देखिएको छ त्यसलाई फाल्नु पर्छ, एमाले हार्छ भने आफ्नै कारणले हार्छ, अरू कसैले हराउन सक्दैन’, उहाँले भन्नुभयो ।
आफूले टिकट पाउँदा ठिक, नपाउँदा सबै बेठिक हुने आत्म केन्द्रित विचार बोक्ने पार्टीका नेता कार्यकर्ताले पार्टी समाप्त हुने उहाँको भनाइ छ । व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने व्यक्ति केन्द्रित विचारले पार्टी अघि नबढ्ने उहाँले बताउनुभयो ।
यसलाई अन्त्य गर्न एमालले सुद्धिकरण अभियान चलाएको भए पनि त्यो अभियान सफल हुन नसकेको उहाँले बताउनुभयो । त्यसैले पार्टी सोचे जसरी अघि बढ्न नसकेको उहाँको भनाइ छ ।
उहाँले यति हुँदा हुँदै पनि निराश हुने अवस्था नरहेको बताउनुभयो । कम्युनिष्टहरु सधैँ आशावादी हुने भएकोले आशा र विश्वासका साथ काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
एमाले, कांग्रेस र माओवादीको एजेण्डा छुट्टिएन भन्ने आरोप अहिले जनस्तरबाट लागेको बताउँदै उहाँले त्यसमा भिन्नता देखिनु पर्ने बताउनुभयो । यसको लागि सबैभन्दा बढी पार्टीबाट निर्वाचित जनप्रतिनिधि जिम्मेवार हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।
कहिल्यै पनि हार नमान्ने मान्छे मात्र सफल हुने बताउँदै उहाँले हारबाट पाठ सिक्दै अघि बढ्नु पर्नेमा जाेड दिनुभयाे । दृढ इच्छा शक्ति भएकाे व्यक्ति मात्र सफल हुने उहाँकाे धारणा छ ।
प्रतिक्रिया दिनुहोस्