जनता टाइम्स

२२ जेष्ठ २०८२, बिहीबार १६:०९

गठबन्धनमा एकमतता छ, गृह मन्त्रीले राजीनामा दिनु पर्दैन : शेरबहादुर देउवा


काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताउनुभएको छ ।

बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन राम्रोसँग चलिरहेको र कुनै समस्या नरहेको बताउनुभयो । वर्तमान सत्ता गठबन्धन २०८४ सालसम्म निरन्तर चल्ने उहाँले बताउनुभयो ।

देउवाले गृह मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने कुनै कारण नभएको पनि बताउनुभयो । उहाँले राजीनामा नदिने बताउँदै उहाँले संसद्को गतिरोध अन्त्यका लागि प्रयास भइरहेको बताउनुभयो ।

देउवाले वर्तमान सरकारले ल्याएको बजेट तथा कार्यक्रम राम्रो भएको पनि बताउनुभयो । कांग्रेस र एमालेको संयुक्त सरकारले ल्याएको बजेट राम्रो र सन्तुलित रहेको देउवाको दाबी छ ।

सरकारले ल्याउने बजेटबाट कुनै न कुनै पक्ष सधैँ असन्तुष्ट रहने भएको बताउँदै उहाँले त्यसमा नअलमलिन पनि आग्रह गर्नुभयो ।

देउवाले देशमा राजा फर्कने कुनै सम्भावना नरहेको बताउनुभयो । राजावादीहरूको आन्दोलन अर्थहीन भइसकेकोले यस विषयमा कुरा गर्नु कुनै औचित्य नरहेको उहाँको भनाइ छ ।