काठमाडौं, २१ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समतामूलक राष्ट्र निर्माणको लागि सबै खालका विभेद अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै कार्कीले जातीय विभेद र छुवाछुत उन्मूलन गर्ने राष्ट्रिय सङ्कल्पसहित जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको दिनको अवसरमा मनाउन थालिएको यो दिवसले सबै खालका विभेद अन्त्य गर्ने अपेक्षा राख्नु भएको छ । ‘न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्ने राष्ट्रिय सङ्कल्प साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पनि हामीले सबै खालका विभेद र विकृतिपूर्ण संस्कारहरूलाई हटाउँदै अगाडि बढ्नुपर्ने आवश्यकता छ’, उहाँले दिनुभएको सन्देशमा उल्लेख छ ।
यस दिवसले सामाजिक, राजनीति, आर्थिक, सांस्कृतिक र जातीय आधारमा हुने सबै खालका विभेदहरू अन्त्य गर्ने विश्वास उहाँले लिनुभएको छ । ‘नेपाल बहुजातिय, बहुभाषिक र बहुसाँस्कृतिक मुलुक हो, विविधताबिचको एकतामा रमाएको मुलुकमा रहेका सबैको सम्मान र समान हक स्थापित गर्नुपर्दछ, सबै जातजाति, धर्म र संस्कृति मान्नेहरूको एकता र हातेमालोबाट नै मुलुक समृद्ध हुन सक्दछ, आजको दिनले हामीबिच एकता, भाइचारा, सहकार्य र सहिष्णुता स्थापित गर्ने विश्वास लिएको छु, सहकार्य र सहअस्तित्वको आधारमा नै हामीले विकासका पाइलाहरू अगाडि बढाउन सक्दछौँ’, उहाँले दिनुभएको सन्देशमा लेखिएको छ ।
दिवसका माध्यमबाट न्यायपूर्ण, समतामूलक, सुसंस्कृत र विभेदरहित समुन्नत राष्ट्र निर्माण गर्न प्रेरणा मिल्ने उहाँको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्