जनता टाइम्स

२१ जेष्ठ २०८२, बुधबार १५:२१

गृहमन्त्रीको बचाउमा उत्रिए सञ्चारमन्त्री गुरुङ, औंल्याए राजीनामा दिनै नपर्ने यस्तो तथ्य


काठमाडौं, जेठ २१ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई तथ्य औंल्याउँर्दै भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिन आवश्यक नरहेको बताउनु भएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै बुधवार सञ्चारमन्त्री गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानविनको प्रक्रिया समेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको बताउनु भयो ।

उनले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखे। दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने मन्त्री गुरुङको भनाइ छ। भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले अवरोध गरेपछि संसद बैठक प्रभावित भएको छ। मंगलबारदेखि बजेटमाथि छलफल हुने कार्यसूची भएपनि आजसम्म बैठक बस्न सकेको छैन।

सो बिषय मा सरकारले प्रतिपक्षीले बिगतमा आफूले गरेको अनुभवलाई तेर्स्याएर सदन अवरोध गरिरहेको आरोप पनि लगाएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन हुनुपर्ने विपक्षी दलको अडानका कारण बैठक निर्धारित समयमा बस्न नसकेको हो। बुधवारको बैठकमा पनि प्रतिपक्षीले यही अडान दोहोर्याएको छ ।

संसदको अवरोध हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दल र सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका सचेतकहरूसँग छलफलमा जारी राखेपनि निश्कर्ष आउन सकेको छैन । समिति गठन गर्ने विषयमा सत्ता पक्ष र विपक्षी दलहरूबीच सहमति हुन सकेको छैन।