जनता टाइम्स

२१ जेष्ठ २०८२, बुधबार १७:२३

दलित समुदायका व्यक्तिहरूले ज्यानै गुमाउनु पर्ने विभेदका घटनाले पीडाबोध हुन्छ : शेरबहादुर देउवा  


काठमाडौं, २१ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै खालका विभेदको समूल नष्ट गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस दलित समुदाय समन्वय र सशक्तीकरण विभागले बुधबार सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले विभेदका अवशेषहरू अझै रहेका बताउँदै त्यसलाई पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील रहेको बताउनुभयो । वर्तमान संयुक्त सरकारका माध्यमबाट पनि विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्नेतर्फ लाग्नु पर्ने उहाँको धारणा छ ।

देउवाले  दलित समुदायका अधिकार प्राप्तिका लागि स्थापना भएका विभिन्न संघ–संगठन र विशेष गरेर नेपाल दलित संघले जुझारु ढङ्गले विभेदविरुद्ध सशक्त आवाज उठाउनु पर्ने बताउनुभयो ।  उहाँले आफू नेतृत्वको कांग्रेसको सरकारले २०५२ सालमै दलित विद्यार्थी छात्रवृत्ति कार्यक्रम ल्याएको र २०५४ सालमा उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति गठन गरेको स्मरण गराउनुभयो ।

धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका व्यक्तिहरूले ज्यानै गुमाउनु पर्ने किसिमका विभेदका घटनाहरू भोग्नु परेको देख्दा र सुन्दा अत्यन्तै पीडाबोध हुने उहाँले बताउनुभयो । यसको अन्त्यको लागि साझा पहल आवश्यक रहेको उहाँको धारणा छ ।