जनता टाइम्स

२३ जेष्ठ २०८२, शुक्रबार १७:३३

भेरी नदीमा पौडी खेल्ने क्रममा २ जनाको मृत्यु, १ बेपत्ता


सुर्खेत । भेरी नदीमा पौडी खेल्न गएका २ जना बालबालिकाको मृत्यु भएको छ भने अन्य एकजना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिका– ८, मन्मैमा पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो तीन जना बालबालिका बेपत्ता भएका थिए । जसमध्ये दुई जनाको ज्यान गएको र एक जना बेपत्ता रहेको जिल्ला पहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा नलगाड नगरपालिका– ८ मन्मै बस्ने टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवती नेपाली र सोही ठाउँका सुरेन्द्र कुसारीको अन्दाजी १२ वर्षीया छोरी आशा कुसारी रहेका छन् । सुरेन्द्रकी १० वर्षीय छोरा महेश कुसारी बेपत्ता रहेको जाजरकोट प्रहरीले जनाएको छ ।

भेरी नदीमा बगिरहेको देखेपछि भगवतीको स्थानीयले उद्धार गरी आठबिसकोट नगर अस्पतालमा लगेका थिए । उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरू शुक्रबार दिउँसो पौडी खेल्न नदी पुगेका थिए । बेपत्ता बालकको खोजी कार्य भइरहेको डिएसपी शर्माले बताए । बेपत्ता बालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।