जनता टाइम्स

२३ जेष्ठ २०८२, शुक्रबार २१:५६

एमालेले धेरै प्रतिकूलताका बिचमा पनि जित हासिल गर्दै आएको छ : प्रदीप ज्ञवाली 


भक्तपुर, २३ जेठ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमाले अत्यन्त अप्ठेरा स्थिति झेलेर अहिलेको अवस्थामा आएको बताउनुभएको छ ।

नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालालाई शुक्रबार सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले एमाले इतिहासका निक्कै सङ्गिन मोड पार गर्दै अघि बढेको बताउनुभयो । ‘नेकपा एमालेले धेरै प्रतिकूलताका बिचमा जित हासिल गर्दै आएको छ’, उहाँले भन्नुभयो ।

एमालेले प्रतिकूलताका बिचमा पनि आफ्नो आस्थालाई, विचारलाई, संगठनलाई जोगाएर राखेको उहाँले बताउनुभयो । ‘धेरैले मैदान खालि गरेको बेला पनि नेकपा एमालेका कार्यकर्ताहरू कुटिँदै, काटिँदै, अपहरणमा पर्दै गर्दा पनि पनि मैदान छाडेर भागेनन्, उहाँहरूले पार्टीको बिउ जोगाइराख्नु भयो’, ज्ञवालीले भन्नुभयो ।

शान्ति प्रक्रियामा आएपछि पनि माओवादीले आतङ्क मच्चाएको बताउँदै उहाँले त्यो बेलामा पनि एमालेले आफूलाई जगाएर अघि बढेको उहाँले स्मरण गराउनुभयो । पछि पहिचानको नाममा समाज विभाजित हुँदा पनि एमालेलाई जगाएर राखिएको ज्ञवालीले बताउनुभयो ।

पार्टी विभाजनको सङ्गिन घडीमा समेत कार्यकर्ताले एमालेलाई जोगाएर राखेका ज्ञवालीले बताउनुभयो । ‘पार्टीको नाम हाम्रो रहन्छ कि रहन्न, चुनाव चिन्ह हामीसँग रहन्छ कि रहन्न, यत्रो बनाएका हाम्रा संरचनाहरू, पार्टीको विरासत हामीसँग रहन्छ कि रहन्न भन्ने अवस्थामा पनि हामीले ती प्रतिकुलतालाई जित्यौँ’, उहाँले भन्नुभयो ।

विगतको तुलनामा अहिलेका प्रतिकूलता त्यति ठुला नभएको उहाँको भनाइ छ । पार्टी देशको सबैभन्दा ठुलो पार्टीको रूपमा बनेको, एमाले अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री भएको, सबै प्रदेशमा एमाले सरकारमा रहेको सहज अवस्था अहिले रहेको उहाँले भन्नुभयो । ‘तुलनात्मक रूपमा हामी सबै अप्ठेरो कालखण्डलाई तोडेर यो बिन्दुमा आइपुगेका छौँ’, उहाँले भन्नुभयो ।

अहिले पनि एमाले विरुद्ध विपक्षीहरू सङ्गठित रूपमा लागेका बताउँदै उहाँले हिजोका अप्ठेरो चिरेर यो अवस्थामा आएको एमालेले यी अप्ठेरा सजिलै पार गर्ने बताउनुभयो । एमालेविरुद्ध पछिल्लो समय राजावादी, माओवादी, रास्वपा लगायतका दलहरू संगठित रूपमा लागेका उहाँले सुनाउनुभयो ।

अहिले एमाले र एमालेको नेतृत्वलाई गाली नगरी आफ्नो पसल नचल्ने भएपछि उनीहरू एमालेको विरुद्ध उत्रिएका ज्ञवालीले बताउनुभयो । ३२ सिटको जादु नचलेपछि माओवादी, एमाले बलियो हुँदासम्म आफ्नो स्वार्थ पुरा नहुने भएपछि राजवादी र रास्वपाका नेता कार्यकर्ता एमालेका विरुद्ध खनिएको ज्ञवालीको भनाइ छ ।