जनता टाइम्स

२६ जेष्ठ २०८२, सोमबार ०८:३०

आज पनि प्रतिनिधि सभा बैठक बस्दै, संसद सञ्चालन अनिश्चित 


काठमाडाै‌, २६ जेठ । आज दिउँसो २ बजेलाई प्रतिनिधि सभा बैठक बोलाइएको छ। यद्यपि पछिल्ला केही दिनयता जस्तै आजको बैठक पनि सञ्चालन हुनेमा अन्योल कायमै छ। विपक्षी दलहरूले गृह मन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् लगातार अवरुद्ध गर्दै आएका छन्।

प्रतिनिधि सभामा माओवादी केन्द्र, रास्वपा लगायतका विपक्षी दलहरूले गृह मन्त्री लेखकको पदत्याग माग गरिरहेका छन्। यही विषयलाई लिएर संसद् बैठक नियमित रूपमा चल्न सकेको छैन।

आजको बैठक सुचारु गर्न दिउँसो १२ बजे प्रमुख दलहरूबिच छलफल हुने तय भएको छ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले “२ बजेबाट एक मिनेट पनि उता नजाने गरी” बैठक सञ्चालन गरिने दाबी गर्नुभएको छ।

सरकारले आगामी आर्थिक वर्षका लागि बजेट संसद्मा पेस गरिसकेको छ। तर बैठक लगातार अवरुद्ध हुँदा बजेटमाथिको छलफल प्रभावित भएको छ। त्यसै गरी, थुप्रै महत्त्वपूर्ण विधेयकहरू समेत अलपत्र परेका छन्।

राजनीतिक संवाद अभाव, सत्तापक्ष-विपक्षबिचको तिक्तता र गृह मन्त्रालयको नेतृत्वलाई लिएर बढ्दो असन्तोषका कारण संसद् अझै अनिश्चितता र अवरोधको घेरामा रहेको छ। आजको बैठक साँच्चिकै बस्ने हो वा फेरि अवरुद्ध हुने हो, त्यो केही घण्टामै प्रस्ट हुनेछ।