जनता टाइम्स

३ असार २०८२, मंगलवार ०९:०९

ढुङ्गै-ढुङ्गाको जिरी स्टोन पार्क आन्तरिक पर्यटकको रोजाइमा


दोलखा, ३ असार । ‘नेपालको स्वीजरल्याण्ड’ भनेर चिनिने दोलखाको जिरीको अर्को पहिचान बनेको छ–स्टोन पार्क।

दोलखा जिल्ला अन्तर्गत जिरी नगरपालिका–१ पुम्पामा अवस्थित यो प्राकृतिक पार्क अहिले आन्तरिक पर्यटकहरूका लागि नयाँ आकर्षणको थलो बन्दै गएको छ। युएनडिपीको सहकार्यमा निर्माण गरिएको स्टोन पार्क दोलखा र रामेछाप दुवै जिल्लाको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्न थालेको छ।

समुद्र सतहबाट झण्डै १८७६ मिटरको उचाइमा अवस्थित यो पार्क जिरी बजारबाट करिब २७ किलोमिटर टाढा, खिम्ती खोलाको काखमा रहेको छ। यस क्षेत्रको भौगोलिक बनावट, हरियाली र खोलाले बगाएर ल्याएका ढुङ्गाहरूको प्राकृतिक संरचना आफैँमा अद्वितीय छन्। यिनै ढुङ्गाहरूलाई कलात्मक ढङ्गले सजाएर तयार गरिएको पार्कमा विभिन्न देवी–देवताको मूर्तिहरू–गुरु रिम्पोछे, बुद्ध र शिवजी–ठूला ढुङ्गामाथि नै कुँदिएको देख्न सकिन्छ।

पार्कमा पर्यटकका लागि आवश्यक सुविधा पनि विस्तार हुँदै गएका छन्। आकर्षक प्रतीक्षालय, ट्रस कटेज, शौचालय, खानेपानी, हेलिप्याड, स्विमिङ पुल, बाल उद्यान र मनोरञ्जन स्थलहरूले यो पार्कलाई समृद्ध बनाएको छ । स्थानीय तहले न्यून शुल्कमा पार्क प्रवेश खुला गरेको छ, जसबाट व्यवस्थापन खर्च धानिँदै आएको छ।

हालै स्टोन पार्कमा म्युजिक भिडियो तथा चलचित्रको छायाङ्कनका लागि विभिन्न कलाकारहरूको समूह पुग्न थालेपछि यसको प्रचार र लोकप्रियता झनै बढेको छ। छायाङ्कन हेर्नकै लागि आउने दर्शकहरूका कारण स्थानीय पर्यटनले उचाइ लिएको छ।

पार्क वरिपरिको पुम्पा (दोलखा), गर्जाङ र शिवालय (रामेछाप) जस्ता गाउँहरू पनि सुन्दर प्रकृति र सांस्कृतिक विविधताले भरिएका छन्, जसले पर्यटकहरूलाई लामो यात्रा बस्न प्रेरित गर्छ। जिरी बजार हुँदै माली हुँदै पार्क पुग्न सकिन्छ भने वैकल्पिक मार्गबाट रामेछापको ठोसे, शिवालय हुँदै पनि सहजै जान सकिन्छ। काठमाडौंंबाट गर्जाङसम्म सिधा गाडी चल्न थालेकाले समेत स्टोन पार्कमा पुग्न झनै सजिलो भएको छ।

स्थानीय सरकार र समुदायको प्रयासमा निर्माण भएको यो पार्कले न केवल स्थानीय रोजगारी सिर्जना गरेको छ, तर आन्तरिक पर्यटनको नयाँ गन्तव्यका रूपमा जिरीलाई पुनः चर्चामा ल्याएको छ। ढुङ्गाको सौन्दर्य र संस्कृतिको सङ्गम देखिने यो पार्कले ‘सामान्य ढुङ्गामा असाधारण सम्भावना लुकेको’ प्रमाण प्रस्तुत गरिरहेको छ।