जनता टाइम्स

३ असार २०८२, मंगलवार १५:३३

मानव तस्करीको जालो च्यात्न उच्चस्तरीय छानबिन समिति गठन होस् : रास्वपा 


काठमाडौं, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसाको आवरणमा मानव तस्करी भइरहेको भन्दै त्यसको छानविनका लागि उच्चस्तरीय समिति गठन गरी दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने माग दोहोर्‍याएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा रास्वपाका सांसदहरूले सदनको ध्यानाकर्षण गराउँदै सो माग दोहोर्‍याएका हुन् । सभामुख देवराज घिमिरेले बैठकको कार्यसूची अघि बढाउन खोज्दा रास्वपा र राप्रपाका सांसदहरू आआफ्नो स्थानबाट उठेर विरोधमा उभिएका थिए। त्यसपछि सभामुखले रास्वपाका सांसद चन्दा कार्की भण्डारीलाई बोल्न समय दिनु भएको थियो ।

सांसद भण्डारीले भिजिट भिसाको नाममा ट्राभल एजेन्सी, एयरलाइन्स कम्पनीहरू, अध्यागमन विभाग र गृह मन्त्रालयका अधिकारीहरूको मिलेमतोमा मानव तस्करी भइरहेको आरोप लगाउनुभयो । यस्तो अवैध गतिविधिले देशको साख र गरिमामा आघात पुगेको उहाँको भनाइ थियो । ‘भिजिट भिसाको नाममा हुने आपराधिक क्रियाकलापले नेपालको इज्जतमा धक्का पुर्‍याएको छ, सरकारलाई पटक–पटक चेतना दिँदा पनि गम्भीरता देखिएको छैन’, उहाँले भन्नुभयो ।

करिब दुई दशकदेखि रहँदै आएको यो समस्याको पहिचान गरी यसको जालो चेत्नु पर्ने उहाँको धारणा छ । २०६४ सालदेखि नै मानव तस्करीको यस्तो प्रवृत्त बढ्दै आएको स्मरण गराउँदै यसको मूल जालो च्यात्न जरुरी रहेको बताउनुभयो ।

उहाँले सरकारको तर्फबाट भिजिट भिसा प्रकरणमा उठेका प्रश्नहरूलाई टार्ने र संसदमा रोष्ट्रमबाट धम्की दिने प्रवृत्तिप्रति आपत्तिजनक भएको बताउनुभयो । आफूहरुले गृह मन्त्रीलाई घटनाको दोषी करार नगरेको बताउँदै उहाँले छानविनको लागि बाटो खोलिदिन मात्र आग्रह गरेको स्पष्ट पार्नुभयो ।