काठमाडौं, ३ असार । नेपाल प्रहरीको साइबर ब्यूरोले कार्यालयमा उपस्थित हुन भन्दै पत्रकार दिलभूषण पाठकको नाममा सूचना जारी गरेको छ ।
पीडित ‘साइबर ब्यूरो ५९’को जाहेरीले सरकार प्रतिवादी भएको विद्युतीय कारोबार ऐन, २०६३ अन्तरगतको कसुरमा पक्राउ अनुमति प्राप्त भएको भन्दै उपस्थित हुन सूचनामा भनिएको छ ।
जिल्ला अदालत काठमाडौंले दिएको पक्राउ पूर्जीविरुद्ध पाठकका तर्फबाट उच्च अदालत, पाटनमा निवेदन परेको थियो । त्यसक्रममा अदालतले दुवै पक्षलाई ५ असारमा छलफलका लागि बोलाउँदै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यसअघि उनलाई पक्राउ नगर्न अदालतले भनेको थियो ।
मंगलबार ब्यूरोको वेवसाइटमा सूचना जारी गर्दै उनलाई ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भएर अनुसन्धानमा सहयोग गरिदिन भनिएको छ । प्रहरीले यसअघि पक्राउ अनुमति जारी भएका कोही पनि व्यक्तिलाई उपस्थित भइदिन भन्दै सार्वजनिक सूचना जारी गर्ने गरेको थिएन ।
हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जोडेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । त्यसपछि प्रहरीले विद्युतीय अपराध ऐनको दफा ४७ अन्तरगतको कसुरमा पाठकलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएको थियो ।समाचारको विषयलाई लिएर विद्युतीय अपराधको कसुरमा पक्राउ अनुमति लिएपछि यसको व्यापक विरोध भएको थियो ।
शनिबार विभिन्न सञ्चारमाध्यमका ३५ सम्पादकहरुले सामूहिक विज्ञप्ति निकालेर ‘कानुनको दुरुपयोग गर्दै सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकारलाई पक्राउ गर्न खोजिएको’ बताएको थिए । ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रता जोडिएका विषयमा तत्सम्बन्धी कानुनले गरेको व्यवस्था पालना गर्न राज्यको ध्यानाकर्षण गराउँदै हामी दिलभूषण पाठक विरुद्धको पक्राउ पुर्जी खारेज गर्न माग गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्