जनता टाइम्स

४ असार २०८२, बुधबार २०:०७

सांसद दिपक मनाङे पदमुक्त, उम्मेदवार नै बन्न नपाउने संवैधानिक इजलासको ठहर


काठमाडौं, असार ४ । सर्वोच्च अदालतले ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दिपक मनाङे) पदमुक्त हुने फैसला गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा. कुमार चुडालको संवैधानिक इजलासले फौजदारी कसुरमा दोषी ठहर भएका मनाङेलाई उम्मेदवार हुन समेत अयोग्य भएको ठहर गरेको हो ।

सर्वोच्च अदालतले फैसला भएको मिति (आज) देखि लागू हुनेगरी मात्रै मनाङे पदमुक्त हुने निर्णय गरेको हो । रिट निवेदनमा उनी निर्वाचित भएको मितिदेखि नै लागू हुनेगरी पदमुक्त गर्नुपर्ने दाबी थियो, जसमाथि सर्वोच्च अदालतले आंशिक सम्बोधन गरेको हो ।

अधिवक्ता वीरेन्द्रराज कार्कीले झुटो विवरण बुझाएर निर्वाचित भएकाले उनको पद खारेज हुनुपर्ने माग गर्नुभएको थियो । निर्वाचनसम्बन्धी कानुनअनुसार अब निर्वाचन आयोगको मनाङ–२ मा उपनिर्वाचन गर्नुपर्नेछ ।

चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ २०६१ बैशाख १३ गते आफ्ना साथीहरूसँग महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा खाना खाइरहेको बेला दिपक मनाङे नेतृत्वको टोलीले खुँडा प्रहार गरेको थियो । सो घटनामा बैशाख १३ गते मनाङे पक्राउ परेका थिए ।