जनता टाइम्स

६ असार २०८२, शुक्रबार ११:३८

सांसदसँग प्रश्नोत्तर कार्यक्रमका लागि संसद पुगे प्रधानमन्त्री ओली, रास्वपाले के गर्ला ?


काठमाडौं, असार ६ । सभामुखले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गर्नुभएको छ ।

रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरुप बदल्न आग्रह गर्नुभएको थियो । सभामुखको आग्रहलाई रास्वपाले अस्वीकार गर्दै आफ्नो विरोध जारी रहने बताउनुभयो ।

रास्वपाको अवरोधका कारण प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित हुने देखिएको छ । प्रश्नोत्तरका लागि प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारबाट बानेश्वर प्रस्थान गरिसक्नुभएको छ ।

सत्तापक्षका मुख्य सचेतक महेशकुमार बर्तौला र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि रास्वपालाई होहल्लाबीच प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर राख्ने वातावरण बनाउन आग्रह गर्नुभएको छ ।

प्रश्नोत्तरका कार्यक्रममा सहभागी भई सांस्दहरुको प्रश्नको जवाफ दिन प्रधानमन्त्री ओली केहीबेर अघि संसद भवन नयाँ बानेश्वर पुग्नुभएको छ ।