काठमाडौं, १२ असार । काठमाडौंको टोखामा विष्णुमति खोलाको बाढीमा कारसहित बगेकी एक महिलाको सकुशल उद्धार भएको छ ।
ग्राण्डी हस्पिटल नजिकबाट खोलाले बगाएको कारभित्र रहेकी दाङ तुलसीपुर घर भई हाल टोखा बस्ने ३४ वर्षीया भावना ओलीलाई बानियाटार पुल नजिकबाट नेपाल प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका हुन् ।वाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको उक्त ईभी कार गएराति करिब १० बजे खोलामा बसेर बाढीमा बगेको थियो ।
उक्त कार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१ घर भई हाल काठमाडौंको धुम्बाराही बस्ने ३५ वर्षीय अंकुश सिंहले चलाएका थिए । उनी तत्काल गाडीबाट खोला किनारामा हाम फालेका थिए । तर गाडी भित्र रहेकी ओली गाडीसहित बगिरहेको देखेपछि प्रहरीले पछ्याएको थियो । सो कार बग्दै बानियाटार पुलमा आएर अड्किएपछि ३ प्रहरी र २ स्थानीय गरी ५ जनाले उद्धार गरेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिनुभयाे ।
उद्धार गरिएकी महिला र उद्धारको क्रममा घाइते भएका व्यक्तिहरुको बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ ।
प्रतिक्रिया दिनुहोस्