जनता टाइम्स

१२ असार २०८२, बिहीबार १९:२०

टीकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा, अव यस्तो हर्कत नगर्ने बाचाकबोल


काठमाडौं, असार १२। प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित सत्तारूढ दलका नेताहरूलाई गाली गर्दै भिडियो बनाएको आरोपमा पक्राउ परेकी टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा छुटनुभएको छ ।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद उपाध्यायले बस्नेतलाई ३० हजार धरौटीमा छोड्न बिहीबार आदेश दिनुभएको हो ।

रमाले टिकटकमार्फत् प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकसहितविरुद्ध आपत्तिजनक गाली गलौज गरेको प्रहरीको भनाई थियो । राष्ट्रिय स्वतन्त्र पार्टी र हाल जेलमा रहेका सभापति रवि लामिछानेकी समर्थक उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन अनुसार कसुर गरेको भन्दै असार १ गते पक्राउ गरेको थियो । रमालाई हिरासतमा राखिएपछि रोइकराइ गरेको समाचारसमेत बाहिर आएको थियो ।

बस्नेतले गालीगलौज गरेका भिडियोका आधारमा गृह मन्त्रालयले प्रहरीलाई अनुसन्धान अघि बढाउन भनेको थियो । यसअघि रमाका बाबु बलदेव बस्नेतले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट हालेपनि सर्वोच्चले छाड्न अस्वीकार गरेको थियो । न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश मात्रै जारी गरेको थियो ।

जिल्ला अदालतले बिहीवार धरौटीमा छाडेको हो । बयानको क्रममा र इजलासमा समेत रमाले आफूले कानून नबुझेर मात्रै यस्तो काम गरेको भन्दै अव आइन्दा यस्तो अपराधपुर्ण काम नगर्ने कसम खाएपछि धरौटीमा छाडन आदेश भएको हो ।

सरकारी वकिलले थुनामै राखेर मुद्दा अघि बढाउनु पर्ने माग गरेपनि इजलाशले सुध्रने अपेक्षासहित धरौटीमा छाडन आदेश दिएको हो ।