जनता टाइम्स

१३ असार २०८२, शुक्रबार ०६:१८

पानी परेको बेला नवलपरासीको दाउन्ने सडकमा राति गाडी चलाउन रोक


काठमाडौं, १३ असार ।  पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडकमा पानी परेको बेला राति गाडी चलाउन रोक लगाइएको छ । नवलपरासी प्रहरीका अनुसार हिजो बेलुकी ७ बजेदेखि बन्द भएको सडक आज बिहान ५ बजे खुलेको छ । बिनयी खोलामा आउने बाढीमा गाडी फस्ने जोखिमका कारण प्रहरीले पानी परेको बेला यातायात बन्द गरेको हो ।

सडक डिभिजन कार्यालय भरतपुरले पाँच दिनअघि सार्वजनिक सूचना निकालेर यस सडक खण्डमा बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी सञ्चालनमा रोक लगाएको थियो । यसअघि तीनदिन ठूलो पानी नपरेका कारण गाडी निर्वाध सञ्चालन भएको थियो ।

पानीको सतह घटेपछि बिनयी खोलाको डाइभर्सनबाट पनि अस्ति बुधवारदेखि गाडी गुड्न थालेका थिए । तर पानी पर्न थालेपछि फेरि रातमा गाडी चलाउन रोकिएको प्रहरीको भनाइ छ । ६ महिनाअघि बिनयी खोलामा रहेको फलामे पुल भाँचिएपछि त्यसैको केही उत्तरतर्फ डाइभर्सन बनाएर गाडी सञ्चालन हुँदै आएको छ ।

राजमार्ग फराकिलो पार्ने क्रममा विनयी खोलामा पक्की पुल बनाएर सकिएको छ । दुई हप्ताअघि पक्की पुलको ढलान भएको थियो । सडक विभागका अनुसार ढलान गरेको चार हप्तापछि त्यसमाथिबाट गाडी गुडाउन मिल्ने भएकोले असार अन्तिमसम्म पुल सञ्चालनमा आउँछ ।

पूर्वी नवलपरासीको दुम्कीबास र पश्चिम नवलपरासीको बर्दघाट बजारको बीचमा १४ किलोमिटर लामो दाउन्ने सडकमा सबैभन्दा बढी समस्या छ । मोडैमोड र हिलाम्य सडकका कारण यो सडक खण्ड बारम्बार अवरुद्ध भइरहेको छ ।