काठमाडौं, १४ असार । सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । पानी परिरहेका दार्चुला, डोटी र बाजुरामा पहिरो र आकश्मिक बहावको जोखिम देखिएको भन्दै सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
दार्चुलाको गोकुलेश्वर, डोटीको पश्चिम सेती र बाजुराको ओलेना तथा आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा मापन भएकाले साना खोलाहरूमा आकश्मिक रूपमा बहाव बढ्न सक्ने भन्दै महाशाखाले सतर्क रहन भनेको हो ।
यस्तै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा पनि राति ठूलो पानी परेकाले त्यस क्षेत्र भई बहने ससाना खोला आसपासमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
राति नुवाकोट, सिन्धुपाल्चोक, दोलखा र आसपासका क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । अहिले बिहानपख भने सुदूरपश्चिमका विभिन्न ठाउँमा पानी परिरहेको छ ।
यसैबीच आज बेलुकीदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार आज बेलुकीदेखि पर्सि सोमवार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका थोरै ठाउँमा तथा अरु प्रदेशका पहाडी भू–भागका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माणकार्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्