जनता टाइम्स

१५ असार २०८२, आईतवार ०७:४०

पश्चिम नेपालका जिल्लाहरुमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी,उच्च सतर्कता अपनाउन आग्रह


काठमाडौं, १५ असार । मनसुन सक्रिय भएकाले पश्चिम नेपालका जिल्लाहरुमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी जारी गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले असार १६ गतेसम्म सतर्कता अपनाउन भनेको छ ।विभागका अनुसार लुम्बिनीका बाँके, बर्दिया र दाङ, कर्णालीका सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिमका बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको चेतावनी जारी गरिएको छ ।

विभागले दिएको सूचनाको आधारमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम हुने भएकाले उच्च सतर्कता अपनाउन र पूर्वतयारी तथा पूर्वकार्य गर्न भनेको छ । विभागका अनुसार गत २४ घण्टामा सबैभन्दा धेरै प्युठानको स्याउलीबाङमा पानी परेको छ । स्याउलीबाङमा २४ घण्टामा १२०.२ मिलिमिटर वर्षा मापन भएको छ ।

यसैगरी सिन्धुपाल्चोकको गोब्रे स्टेसनमा १०२।६ र कञ्चनपुरको हनुमाननगरमा १०२.४ मिलिमिटर वर्षा मापन भएको छ । वर्षा, बाढी र डुबानको जोखिम भएकाले नदी र खोला नजिकको क्षेत्रमा नजान भनिएको छ । साथै सडक र हवाई यातायात समेत प्रभावित हुने सम्भावना रहेकाले मौसमको अध्यावधिक जानकारी लिएर र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न भनिएको छ ।