सेभिल्ला (स्पेन), १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापनसत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिनुभएको छ ।
संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले वित्तीय लगानीका लागि विकाससिल देशले आफ्ना प्रतिबद्धताहरुलाई पूरा गर्नुपर्ने जोड दिनुभएको हो ।
उहाँले विकास सहयोग, ऋण दिगोपना र अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारका लागि पूरा नभएका कार्यसूचीमा नागरिक समाजले निरन्तर आवाज उठाउनुपर्ने बताउनुभयो । “तपाईंहरु यस सम्मेलनका सहभागी मात्रै होइन, परिवर्तनका लागि उत्प्रेरक र सशक्त आवाज पनि हो । तपाईंहरुको वकालत र आवाजले देखिने प्रकारको परिणामका लागि योगदान दिन सक्नेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो , “नेपाल सुशासन, विधिको शासन र लोकतान्त्रिक मूल्य, मान्यतामा विश्वास गर्दै सुशासन, विकास र समृद्धिको यात्रामा अघि बढिरहेको छ ।”
समावेशीता, आवश्यकता र समानुपातिकताका आधारमा विश्वमा लगानी हुनुपर्छ भन्ने मान्यतामा नेपाल रहेको उहाँले बताउनुभयो। “यसमा नागरिक समाजको विश्वव्यापी साझेदारी र सहभागिताको म प्रशंसा गर्दछु,” ओलीले भन्नुभयो।
नागरिक समाजको वकालतबाट जनता, पृथ्वी र साझा दायित्वका लागि बल प्रदान हुने बताउँदै उनले कसैलाई पछाडि नराखी समतामूलक र दिगो भविष्य निर्माणका लागि अग्रसर हुन आह्वान गर्नुभयो । स्पेन सरकारका उपाध्यक्ष काल्भो पोयाटोसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको पुँजीलाई राम्रो रोजगारी सिर्जना गर्न र समावेशी वृद्धिलाई प्रवर्द्धन र परिचालन एवं विकासका लागि स्रोतहरुको खोजी गर्न सबैले साझा दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो । नागरिक समाजको उक्त सत्रबाट पारित घोषणापत्रलाई ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ले स्वीकार गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्