जनता टाइम्स

१६ असार २०८२, सोमबार १४:५०

धनगढीमा २४ घण्टामा २०२ मिलिमिटर वर्षा, उच्च सतर्कता र तयारी अवस्थामा रहन मुख्यमन्त्रीको निर्देशन


काठमाडौं, १६ असार ।धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका टोलहरू डुबानमा परेपछि स्थानीयहरू समस्यामा परेका छन्। जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार धनगढी विमानस्थलको स्टेसनमा पछिल्लो २४ घण्टामा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ। विभागले खतराको सङ्केत नै जारी गरेको हो।

उपमहानगरपालिकाको वडा नम्बर ८ र १२ लगायतका टोलका अधिकांश घरमा पानी पसेपछि स्थानीयहरूको सामानमा क्षति पुगेको छ। वडा नम्बर ८ को शिक्षानगर डुबानको चपेटामा छ। घरभित्र पानी पसेपछि दराज, फ्रिज, लो बेड, अन्नपात लगायतमा ठुलो क्षति पुगेको छ।कञ्चनपुरको कृष्णपुर, बेलौरीमा पनि डुबान छ। सुदूरपश्चिमका तराईका जिल्लामा डुबानमा परेका छन्। पहाडी जिल्लामा पनि वर्षा जारी छ। अति भारी वर्षासँगै कञ्चनपुरका पुनर्बास, कृष्णपुर लगायतका स्थानका केही घरमा बाढी पसेको छ। बाढीले डुबानमा परेपछि कृष्णपुर–५ पवित्रबस्तीको आरती विकको घरका चार जना सदस्यहरुलाई प्रहरीले उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो ।

यस्तै मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । ‘भारी वर्षापछि लगातारको भारी वर्षाका कारण कैलाली, कञ्चनपुर लगायत आसपासका क्षेत्रहरू जलमग्न भएका छन्’, मुख्यमन्त्री शाहले भन्नुभएको छ– ‘बाढीबाट डुबान हुन सक्ने भएकोले विपत्तिको समयमा सुरक्षित भएर बस्नुहुन सर्वसाधारण सबैमा अनुरोध गर्दछु।’ साथै उहाँले सुरक्षा निकाय लगायत सम्पूर्ण मातहतका निकायहरूलाई विपद्को समयमा उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।