जनता टाइम्स

१८ असार २०८२, बुधबार ०९:४६

प्रहरीको निगरानीमा सुमिरे ट्राभल्स


काठमाडौं, १७ असार । सुमिरे टुर एन्ड ट्राभल्सले जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौँ रुपैयाँ लिएर बदमासी गरेको आरोप लागेपछि नेपाल प्रहरीले चासो राखेको छ ।विगत १० वर्षदेखि भिजिट भिषामा जापान पठाउँदै आएको सो ट्राभल्सको बारेमा संसदमा समेत कुरा उठेपछि नेपाल प्रहरीको मानव वेचविखन ब्युरोले चासो राखेको हो । ‘हामीले दुई दिनदेखि यो विषयमा चासो राखेका थियौ, तर अहिलेसम्म केही फेला परेको छैन’, प्रहरी उच्च स्रोतले भन्यो। प्रतिनिधि सभामा ओखलढुंगाका सांसद रामहरि खतिवडाले असार १४ मा सुमिरे टुर एन्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौँ रुपैयाँ लिएर बदमासी गरेको आरोप लगाउनुभएको थियो । सो आरोपपछि प्रहरीको मावनवेचविखन ब्युरो सक्रिय भएको थियो । तर यो विषयलाई गोप्य राखेको छ । तर नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले सो ट्राभल्सको बारेमा कहीँ कतैबाट उजुरी नआएको बताउनुभयो ।

‘यस्ता विषयहरूमा प्रहरीको चासो हुन्छन् तर सो ट्राभल्सको हकमा कहीँ कतै उजुरी परेको छैन, संसदमा के के विषयहरू उठ्छन् त्यसमा हाम्रो ध्यान छैन’, प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले भन्नुभयो । उच्च प्रहरी स्रोतका अनुसार प्रहरीले चासो राख्दा अध्यागमन विभागबाट भन्दा पनि ट्राभलबाट नै सबै विवरण लिनुपर्ने देखिएपछि प्रहरीले त्यतातर्फ ध्यान केन्द्रित गरेको जनाएको छ । तर प्रहरीले अहिलेसम्म कुनै सामाग्री फेला पार्न सकेको छैन । सुमिरे ट्राभल्सको बारेमा प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले अनुसन्धानको माग गर्नुभएको थियो । प्रहरीले अनुसन्धानमा चासो राखिरहेका बेला रास्वपाका कार्यवाहक सभापति समेत रहेका डीपी विरुद्ध भिजिट भिसा दुरुपयोग र मानव तस्करी विषयमा छानबिनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दर्ता भएको छ । प्रधानमन्त्री कार्यालयमा युवराज सफलले सो उजुरी दर्ता गर्नुभएको छ । सफलले प्रतिनिधिसभाको गत असार १५ गतेको बैठकमा सांसद अर्यालले आफू सुमिरे टुर्स एण्ड ट्राभल्स प्रा.लाी. को सञ्चालक रहेको र वर्षौँदेखि जापानमा भिजिट भिसामा नेपाली नागरिक पठाउँदै आएको स्विकारे लगत्तै कार्यवाहक सभापति अर्यालविरुद्ध उजुरी दर्ता गर्नुभएको हो ।