बारा, १९ असार । यहाँको जितपुरसिमरा उपमहानगरपालिका–२ मा अवस्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार बुधबार राति करिब सवा नौ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको हो । घटनापछि नजिकै रहेको इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।
विस्फोटको कारण र त्यसबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन । प्रहरी प्रवक्ता पण्डितले घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको बताउनुभयो ।उद्योग सञ्चालनमा रहेको समयमा विस्फोट भएको हुँदा सम्भावित मानवीय क्षतिको आशङ्का गरिए पनि एकजना मात्र घाइते भएको जानकारी प्राप्त भएको जनाइएको छ ।
घाइते हुनेमा भारत विहारको सीतामडी निवासी ३५ वर्षीय अजय बैठा रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेद जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार अपरेटरको काम गर्दै आएका बैठाको दाहिने हातमा चोट लागेको छभने आगो नियन्त्रण आइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्